विराटनगर/ एउटै गाउँका चारैजनाको एकै साथ निमार्णाधीन सेफ्टी ट्याङ्कीभित्रको फर्मा झिक्ने क्रममा निसास्सिएर मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
मोरङको सुनवर्षी नगरपालिका–९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा रहेको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा चारजना निसास्सिएर मृत्यु भएपछि डाइनियाको सिङ्गो गाउँ शोकमा डुबेको हो ।
स्थानीय सरकार र स्थानीयबासीको योगदानमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र निसास्सिएर डाइनियाका चारजनाको शनिबार मृत्यु भएको थियो । निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र पसेका साथीलाई बचाउन खोज्दा चारैजनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । सेफ्टी ट्याङ्कीको फर्मा खोल्न पसेका साथीलाई उद्दार गर्न खोज्दा मो. फिरोज आलम, मो. सहनवाद, कफिल आलम र मो. वसिब आलमको मृत्यु भएको हो ।
स्थानीय शिक्षक मोहम्मद फारुक रिजबीका अनुसार सेफ्टी ट्याङ्कीभित्र शुरुमा २२ वर्षीय वसिक आलम प्रवेश गरेका थिए । उनी भित्र ढलेपछि २५ वर्षीय फिरोज पनि बेहोस भए । त्यसपछि १९ वर्षीय मो.सहनवाद प्रवेश गरे । तीनजना भित्र प्रवेश गरेर बेहोस भएपछि गाउँभरि हल्ला फैलियो ।
‘छोरा फिरोज भित्र बेहोस भएपछि ६० वर्षीय बुबा कफिल मियाँ प्रवेश गरे । उनी पनि बेहोस भएपछि गाउँका अन्य व्यक्ति पनि प्रवेश गर्न खोजे’ उनले भने, ‘चारजना बेहोस भएपछि ट्याङ्कीभित्र प्रवेश गर्न खोज्नेलाई स्थानीयले रोके । नरोकेको भए धेरै पस्ने थिए ।’ उनका अनुसार विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पोष्टमार्टमपछि आइतबार दाहसंस्कार पनि गरिएको छ ।
उपचारमा लापरबाही गरेको आरोप
जानकारी पाएलगत्तै जिल्ला अस्पताल रङ्गेलीबाट अक्सिजन लिई प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले ट्याङ्कीमा फसेका चारैजनालाई उद्धार गरी रङ्गेली अस्पताल पठाए पनि रङ्गेली अस्पतालले गोल्डेन अस्पताल रेफर गरेको थियो । गोल्डेन अस्पताल पुर्याएलगत्तै त्यहाँका चिकित्सकले चारैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरीले उद्धार गरी बाहिर निकाल्दा चारजनामध्ये कफिलको श्वास–प्रश्वास रोकिएको थियो । अन्य तीनजनाको अवस्था भने सामान्य थियो । मुखबाट अक्सिजन दिने क्रममा दाउद मियाँ घाइते भए । उद्धार गरिएका चारैजनालाई प्रहरीले रङ्गेली अस्पताल पठायो । तर, मेडिकल अफिसरको दरबन्दी भएको अस्पतालमा कोही थिएनन् ।
करिब डेढ घण्टा नर्सले उपचार गर्न खोजे पनि मृत्यु भएपछि विराटनगर रेफर गरेको शिक्षक फिरोजको गुनासो छ । ‘अस्पतालले चरम लापरबाही गरेको छ । गम्भीर अवस्थाका बिरामीलाई उपचार नगरी डेढ घण्टासम्म राख्यो’ उनले भने, ‘मृत्यु भएपछि जोगिन अस्पतालले विराटनगर रेफर गर्यो ।’
रङ्गेली अस्पतालले उपचारमा लापरबाही गरेका कारण बिरामीको ज्यान गएको उनको आरोप छ । मेडिकल अफिसरको दरबन्दी भए पनि अस्पतालमा कुनै चिकित्सक थिएनन् । बेलैमा उपचार नगर्दा बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए ।
































