भद्रपुर / मामा घरमा बसेर अध्ययन गर्दै आएका एक विद्यार्थीको डेङ्गुको सङ्क्रमणवाट मृत्यु भएको आशङ्का गरिएको छ । इलामको साक्फारा घर भएका १४ वर्षीय रिजेन राईको उपचारको क्रममा ज्यान गएको हो । झापाको कमल गाउँपालिका ४ को फोनिक्स इंङ्लिस वोर्डिङ्ग स्कुल कक्षा ९ का छात्र रिजेनको डेङ्गु सङ्क्रमणवाट मृत्यु भएको चिकित्सकले बताएका छन् । यसको सरकारी तवरवाट भने पुष्टी हुन बाँकी छ ।
रिजेन गएको वुधबार विद्यालय आएका थिए । कक्षा कोठामै टाउको दुख्ने, हार्ड जोर्नी दुख्यो भन्दै विद्यालय प्रशासनलाई खबर गरेपछि उनलाई विद्यालयले घर पुर्याएको प्रिन्सिपल वदी साम्पाङ्ग राईले बताए ।
विहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको पारिवारीक स्रोतले जनाएको प्रिन्सीपल राईले जानकारी दिए ।
रिजेनको स्वास्थ्य परिक्षण गर्दा पेटेलेट्सको मात्रा ६८ हजार मात्र रहको अस्पतालले जनाएको थियो । अस्पतालका अनुसार सामान्यता स्वस्थ मानिसको पेटेलेट्को मात्रा १ लाख ५० हजार देखि ३ लाख सम्म हुन्छ । डेङ्गुको सङ्क्रमण भयो भने पेटेलेट्स ओरालो लाग्ने गरेको चिकित्सकको भनाई छ ।
थप उपचारको लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरे पनि धरानमा आयुसियुको अभावमा पुन रिजेनलाई विराटनगरको मेक्स इन्टर नेसनल प्रालि अस्पतालमा लगेका थिए । उनको उपचारको क्रममा आइतबार विहान अस्पतालमा मृत्यु भएको कमल गाँउपालिकाका स्वास्थ्य शाखाका कर्मचारी राम चन्द्र मिश्रले जानकारी दिए । रिजेनको शवलाई मोरङ्गको मङ्गलबारे स्वास्थ्य केन्द्रमा राखिएको छ । केन्द्रले रोग नियन्त्रण महासाखामा जानकारी गराएको छ ।
































