भद्रपुर / गाउँलेले थापेको विद्युतीय धरापमा परी एउटा छावा जङ्गली हात्तीको ज्यान गएको छ । झापाको हल्दीबारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर भाले हात्तीको ज्यान गएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको नजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको जलथल सव–डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले बताए । अन्दाजी तीन वर्षको छावा भाले हात्तीको सुँडले करेन्ट प्रवाह भएको तार छोए पछि र पानीको दहपनि भएकोले मृत्यु भएको पाठकको भनाइ छ । तार सुँडमा बेरिएको उनले बताए । मृतक हात्तीको लम्बाइ १६ फिट ६ इन्च र उचाइ ८ फिट ४ इन्च रहेको उनले बताए ।
घटना शुक्रबार वेलुका भए पनि स्थानीयले शनिबार विहान मात्र थाहा पाएका थिए । घटनास्थलमा स्थानीयको भीडसँगै हात्तीलाई पूजा गर्दै फुल तथा पैसा चढाएका थिए । घटनापछि जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयारी गरी पशु चिकित्सकले पोस्टमार्टम गरेर सोही जङ्गमा खाल्डो खनेर पूरिएको उनले बताए ।
जङ्गलबाट आएका हात्तीले गाउँमा क्षति नगरोस भनेर विद्युतीय तार लगाएको हात्ती पीडित स्थानीयको भनाइ छ । एकहप्ता यतादेखि लगातार १० वटा सम्म गाउँछिरेका हात्तीको बथानले भूमीराज गिरी,योगेन्द्र खेवा, ३ नम्बर वडाध्यक्ष रोशनी शिवाकोटी, कुमार पूरीलगायत एक दर्जनभन्दा बढी घरलेलगाएको मकैमा क्षति पु¥याएको दिपक वनले बताए ।
२०६७ सालदेखि हालसम्म जिल्लामा ३९ जना मानिसको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ । छावासहित ११ वटा हात्ती विभिन्न कारणले मरिसकेको डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । जलथलको चार कोशे जङ्गमा ८ देखि १० वटा रैथाने हात्ती रहेको उनले जनाए । सोही जङ्गलमा सोलार फेन्सिङ् जडानको लागि काम भइरहेको छ ।
































