राजविराज/ सप्तरीको तिरहुत गाउँपालिका –३, पिप्राहीका २५ वर्षीय जयकृष्ण बिराजीको शवसहित बिहीबार स्थानीयले राजविराजमा प्रदर्शन गरेका छन् ।
मृतकका पिता उपेन्द्रप्रसाद यादवसहितका आफन्त र स्थानीयबासीले प्रहरी र प्रशासनको विरोध गर्दै प्रदर्शन गरेका हुन् । मङ्गलबार राती युवाहरूको समूहले कुटपिट गर्दा जयकृष्णको मृत्यु भएको थियो । राजविराज नगरपालिका –७ स्थित खर्साल टोलमा भएको हत्या केटीका कारण भएको हुनसक्ने स्थानीयले बताएका छन् ।
प्रहरीले समयमा उजुरी दर्ता नगर्दा हत्यारा फरार भएको प्रदर्शनकारीले आरोप लगाए । घटनाको दुई दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेको उनीहरूको आरोप छ । उजुरी दर्ता गरी दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । प्रदर्शनकारीले करिब आधा घण्टासम्म नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय घेराउ गरे ।
मुद्दा दर्ता नगरी शव नउठाउने प्रदर्शनकारीको अडानपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टेलीफोनमार्फत् प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिए । घटनाका दोषीले उन्मुक्ति नपाउने र निर्दोष नफस्ने उनले प्रतिबद्धता जनाए ।
सिडिओको निर्देशनपछि प्रदर्शनकारीहरू शव लिएर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज्ञात समूहले कुटपिट गरी युवकको हत्या गरेको जानकारी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूको तदारुकताका साथ खोज तलास भइरहेको र अनुसन्धान कार्य जारी रहेको डिएसपी रिमालले बताए ।