धरान / ब्लाष्ट विजय यात्रा–१ ग्राहक उपहार योजनाको भाग्यशाली ग्राहक मोरङ सलकपुरको समाज मेडिकल हल बनेको छ ।
भाग्यशाली ग्राहकले यामाहा कम्पनीको ११३ सिसिको स्कुटी प्राप्त गरेको छ । शनिबार धरानमा खोलिएको भाग्यशाली ग्राहक उपहार योजना सार्वजनिक कार्यक्रममा दोस्रो भाग्यशाली ग्राहक भने मोरङ उर्लाबारीस्थित लक्ष्मी हार्डवेयर बन्न सफल भएको छ । उसले सिजी कम्पनीको १८५ लिटरको रेफ्रिजेरेटर प्राप्त गरेको छ । त्यस्तै तेस्रो भाग्यशाली ग्राहक भने धरान–१५ श्यामचोकका भीमचन्द्र नेपाल बनेका छन् । उनले सिजीको २४ इञ्चको एलइडी टर्वो टिभी प्राप्त गरेका छन् ।
भाग्यशाली ग्राहकको नामावली धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले सार्वजनिक गरिन् । उनले पूर्वको धरानबाट प्रकाशित हुँदै आएको ब्लाष्ट पूर्वका पत्रकारहरूको लागि आफैंमा विश्वविद्यालय भएको बताइन् । उनले ब्लाष्टबाट धेरैले पत्रकारिता सिकेको बताइन् । उनले सञ्चार क्षेत्रमा पूर्वमा आउने नामको रूपमा र छुट्टै पहिचान बनाउन सफल भएको समेत बताइन् । उनले नगरले गरेका राम्रा कार्य र गलत क्रियाकलापहरूलाई पनि सचेत गराउन आग्रह गरिन् ।
त्यस्तै धरान इलाका प्रशासन कार्यालयका अधिकृत कृष्णकुमार कार्कीले ब्लाष्टसँग आफू धेरै अघिदेखि नै परिचित रहेको खुलाए । उनले ब्लाष्टले गरेको खोजमूलक समाचार र निस्पक्षताकै कारण २५ वर्षे इतिहास बनाउन सकेको बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पनि निस्पक्ष र खोजमूलक समाचारका कारण ब्लाष्ट अहिलेसम्म अनवरत रूपमा पूर्वमा छाउन सकेको बताए । आफूले पूर्वमा थुप्रै पत्रपत्रिका प्रशासन हुँदै बन्द भएको इतिहास बनाएको सन्दर्भमा मोफसलबाट ब्लाष्टले भने छुट्टै आफ्नो इतिहास बनाएको बताए । धरान–१५ नम्बर वडाका वडाध्यक्ष नरेश इवारामले तीन तहको सरकार बनेको अवस्थामा ती सरकारहरूले गर्ने कार्यसम्पादनका विषयमा पत्रकारहरूले खोजीनीति गरिदिनुपर्ने बताए । उनले बजेट हालै आएको अवस्थामा त्यसको खबरदारीका लागि पनि अगाडि आउन जरुरी रहेको बताए ।
पूर्व क्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्कीले मोफसलबाट प्रकाशित भएको ब्लाष्टले ग्राहक उपहार योजना ल्याउनु आफैंमा चुनौती हुँदाहुँदै पनि प्रायोजकहरूको सहयोगबाट यो अवस्थामा आउन सफल भएको बताए । उनले अबका दिनमा थप यस्ता कार्यक्रम ल्याएर ग्राहक वर्गमा पनि उत्साह प्रदान गर्ने बताए । सत्य, तथ्य र वस्तुनिष्ठ समाचारमा आफूहरू कहिल्यै नचुक्ने उनले बताए । ब्लाष्ट ग्राहक योजना गत भदौं अन्तिमबाट शुरु गरिएको थियो । जसमा १ हजार ३ सय ३६ जना ग्राहक बनेका थिए । ती ग्राहकमध्येबाट तीन जना भाग्यशाली ग्राहक बन्न सफल भएको उपप्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, ग्राहक योजनाका प्रमुख राम खनाल, ब्लाष्ट दैनिकका उपनिर्देशक दीपेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता डिल्ली कन्दङ्वा सुब्बाले गरेका थिए ।
१३ सय ३५ जनाबाट लक्की ड्रबाट उपमहार पाउने ३ भाग्यमानी ग्राहकहरु:

































