ताप्लेजुङ / सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले ताप्लेजुङ्को फुङ्लिङ नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्रा्ष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । फुङ्लिङ नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शनिवार एक दिने शिविर सञ्चालन गरेको थियो । शिविरमार्फत एक दिनमा सामुदायिक तथा घर पालुवा गरि ४५ ओटा कुकुरको स्थायी वन्ध्याकरण गरिएको नगरपालिकाका पशु शाखा संयोजक राजेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार काठमाडौको अन्नपूर्ण भेट क्लिनिक एण्ड पेटसव र भ्याली क्लिनिक एण्ड पेटसवमा कार्यरत डाक्टर त्रय रमेश बस्ताकोटी, नवीन श्रेष्ठ र गणेशराज पन्तले सामुदायिक कुकुरहरुको बध्याकरण गरेका थिए । यसअघि शिविरको उद्घाटन फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले गरेका थिए । कार्यक्रमका नगरउपप्रमुख बमबहादुर भट्टराई(तारा), नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङ सहितको उपस्थिति रहेको थियो । नगरपालिकाको आयोजनामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो पहिलो पटक हो ।
यसअघि स्थानिय हिमाल हिमाली संरक्षण मञ्च नामक संस्थाले पशु सेवा कार्यालय संगको समन्वयमा गत वर्ष शिविर सञ्चालन गरेको थियो । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा सन् २०१० मा ‘हार्ट’को स्थापना पछि बध्याकरण शुरु गरिएको हो ।