पाँचथर । दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकाको बेँसी क्षेत्र खडेरीको चपेटामा परेको छ । असार आधा बित्न लाग्दा पनि वर्षा नहुँदा त्यस क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।
खडेरीका कारण घाँस र बालीनाली मरेका छन् । वस्तुभाउलाई पानी खुवाउनसमेत समस्या भएको छ । खानेपानीका लागि अनेकौँ कष्ट गर्नुपरेको तुम्बेवा–१, स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बम तामाङले बताए । उनले भने– ‘खडेरीले सबै बालीनाली सखाप पा¥यो, खानेपानीको दुःख भनिसाध्य छैन ।’ सो क्षेत्रमा गएको वैशाखदेखि पानी नपरेको स्थानीयको भनाइ छ ।
गाउँपालिकाको १ नं.वडाका रातमाटे, ढुकुरे, आम्बोटे, डिहीगाउँ, चनौटे, लुमाङ्दिङ्, थेपाङ, याबुनी, लुङ्गेली गाउँ, माखिम गाउँ अतिप्रभावित भएका हुन् । त्यस्तै वडा नं.२ को सोभारा, हाक्पारा, मेवा, खैरेनी, चुवाडे, धारापानी गाउँ, वडा नं.५ कोे भर्लेनी, मसले, वडा नं.४ को अधिकारी गाउँ र वडा नं. ३ को याङ्खुवा, सल्लेरी पुछार, मादिबुङ गाउँ काकाकुलको अवस्थामा पुगेका हुन् ।
सो गाउँका बासिन्दाले तीन वर्षदेखि यस्तै खडेरीको सामना गर्नुपरेको थियो । लगाएको बाली खडेरीले मरेपछि प्रदेश सरकार र गाउँपालिकाले दिएको राहतले वर्ष काट्नुपरेको थियो । यो वर्ष पनि उस्तै सङ्कट निम्तिएको वडा नं.१ का वडा सदस्य डेकेन्द्रकुमार तामाङले बताए । तामाङका अनुसार खडेरीले उराठ बनेको गाउँका बासिन्दालाई वर्ष कसरी टार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
गाउँपालिकाका दुई हजार नौ सय घरधुरीमा रहेका १३ हजार पाँच सय जनसङ्ख्या वर्षेनी बसाइँसराइका कारण घट्दो क्रममा रहेको छ । खडेरीको सामना गर्न नसकि हरेक बर्ष अन्यत्रै बसाइँसरी जानेको संख्या उल्लेख्य छ । गाउँपालिकाको तथ्याङ्कअनुसार गाउँपालिकाबाट हरेक वर्ष करीब ५० घरपरिवार बसाइँ सरी जाने गरेका छन् । गत वर्ष चार सय ९० जनाले गाउँ छाडेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
मानिसका लागि ट्याङ्करबाट खानेपानी वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । तर, खडेरी प्रभावित सबै क्षेत्रमा खानेपानी वितरण गर्न कठिनाइ भएको अध्यक्ष थापाको भनाइ छ । वस्तुभाउलाई पानी खुवाउन ठूलो समस्या रहेको थापाले बताए । समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारलाई आग्रह गरिएको उनले बताए ।