ताप्लेजुङ । पर्यटकीय क्षेत्र तिनजुरे मिल्के जलजलेको गुराँस संरक्षणका लागि स्थानीयलाई सुधारिएको फलामे चुलो वितरण गरिएको छ ।
दाउराका रूपमा स्थानियले गुराँसलाई प्रयोग गर्दा गुराँसका रुख काट्ने क्रम बढेको भन्दै कम दाउरा खपत हुने खालको चुलो वितरण गरिएको हो । तिनजुरे मिल्के जलजले संरक्षण क्षेत्र आयोजनको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुका २ सय ६० घरधुरीलाई चुलो वितरण गरिएको छ ।
३ सय ९८ घर धुरी रहेको सो वडामा पहिलो चरणमा २ सय ६० घरलाई चुलो वितरण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । टिएमजे संरक्षण क्षेत्र आयोजनाको १५ लाख आर्थिक सहयोग र संस्थाको समेत लगानीमा चुलो इटहरीबाट खरिद गरी वितरण गरिएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।
गाउँपालिकासँग पनि समन्वय गरेर अन्य वडाहरूमा समेत यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको हिमाली संरक्षण मञ्चका प्राविधिक तथा फिल्ड संयोजक सन्दिप सुवेदीले बताए । सुवेदीका अनुसार पहिलो चरणमा सो वडाका २ सय ६० जनालाई वितरण गरिएको र दोस्रो चरणमा पछि बाँकीलाई समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
करिब १० हजार प्रतिगोटा पर्ने फलामे सुधारिएको चुलोमा स्थानीयले प्रति एक चुलो १५ सय रुपयाँ लगानी गरेका छन् । “स्थानीयलाई हाम्रो हो भन्ने भावनाको विकास होस् भन्ने उद्देश्यले पनि पैसा उठाएका हौँ ।” कार्यक्रम संयोजक राईले भने ।
चुलोको प्रयोगबाट महिलाले खाना पकाउने इन्धनको खोजबिनमा दिनभरि लाग्ने समयको बचत तथा स्वास्थ्यमा असर नगर्नाले सुधारिएको चुलोप्रति महिलाहरूको आकर्षण वृद्धि भएको गाउँपालिकाका प्रवक्ता तथा सो वडाका वडाध्यक्ष दिवश चोङ्वाङले सुनाए । यस्तो प्रकारको चुलोको प्रयोगले गुराँस लगायतका अन्य रुखबिरुवाको संरक्षणमा समेत टेवा पुग्ने संस्थाको अपेक्षा छ ।
































