पाँचथर( यासोक ) । अधिकांश स्थानीय तहमा विकास निर्माणको नाममा धेरै सडक निर्माण गरिएका छन् । वन, जङ्गल र खानेपानीका स्रोतमा डोजर प्रयोग गरी विकास निर्माणको नाममा सडक निर्माण गरिएको छ । तर, पाँचथरको कुम्मायक गाउँपालिकाका एक जना जनप्रतिनिधि हरियाली अभियानमा जुटेका छन् । सरकारले ०६६ सालमै सुख्खा क्षेत्र घोषणा गरेको कुम्मायक १ लाई हरियाली बनाउने अभियानमा १ नम्बर वडाका वडाध्यक्ष देवेन्द्रकुमार लावती लागि परेका हुन् ।

गाउँपालिकाका अन्य वडाका जनप्रतिनिधि बस्तीमा सडक पुर्याउने अयिभानमा जुटेका छन् तर लावतीको उदेश्य भने फरक देखियो । आफ्नो वडाका लागि गाउँपालिकाबाट विनियोजित ६ लाख रुपैयाँ बजेटबाट उनले स्थानीयको जग्गामा सुख्खा सहन सक्ने विभिन्न प्रजातिका ४५ हजार बिरुवा नर्सरीमा हुर्काएका छन् । वडा कार्यालयको काम सकेर उनी दैनिक नर्सरीमा पुग्छन् । पानी लगाउँने र बिरुवा गोड्मेल गर्ने उनको दैनिकी जस्तै छ । ‘पहिलो पक्ष वातावरण जोगाउनु हो’ नर्सरीमा बिरुवा गोडमेल गर्दै गरेको अवस्थामा भेटिएका अध्यक्ष लावतीले भने ‘वातावरण जोगिएन भने सम्पूर्ण प्राणी जगत् नै समस्यामा पर्छन् ।’ उत्पादित बिरुवा केही दिनभित्रै प्रतिघर १ सयका दरले वडाबासीलाई निशुल्क वितरण गरिने उनले बताए ।

सङ्घीयता कार्यान्वयनमा आउनुअघि यासोक गाविस रहेको उनको वडाका अधिकांश वस्ती सुख्खा छन् । वडाका ८ सय २८ घरधुरीलाई सहभागी गराई प्रतिघर १ सय विरुवा रोप्ने योजना उनको छ । नर्सरीमा बिरुवा उमार्न पानी नभएको आफ्नो वडामा ४५ हजार विरुवा रोपेर हुर्काउनु निकै चुनौतीपूर्ण रहेको अध्यक्ष लावतीले बताए ।

पिउने पानीको चरम अभाव खेपिरहेको वडामा बसाईंसराइको दर पनि निकै उच्च छ । बसाईसराइपछि बाँझो रहेको ५ सय २० रोपनी किसानको निजी जग्गामा बिरुवा रोप्ने उनको योजना छ । वडाबासी बसाईं गएपछि धेरै क्षेत्रफलका खेतबारी बाँझिएका छन् । बाँझिएका २८ हेक्टर क्षेत्रफलमा बिरुवा रोपेर हरियाली बनाउने जिम्मा अध्यक्ष लावतीले लिएका छन् । नर्सरीमा बिरुवा उमार्न वर्षातको पानी घरको छानामा पाईप जोडेर प्लाष्टिक पोखरीमा जम्मा गरिएको छ । त्यही पानीले नर्सरीमा उमारिएका बिरुवामा सिञ्चाई गरिएको छ ।

जहाँ इच्छा त्यहाँ उपाय भने झै, बिरुवा हुर्काउन खोलाकै पानी चाहिन्छ भन्नेमा अध्यक्ष लावती छैनन् । वर्षातमा आउने आकाशे पानीलाई सदुपयोग गर्न सकियो भने सुख्खा क्षुत्रमा सजिलैसँग रुख हुर्काएर हरियाली बनाउन सकिने अनुभव आफू सँग रहेको उनले बताए । वर्षातमा आउने आकाशे पानीलाई प्लाष्टिक पोखरीमा जम्मा गरेर सुख्खा यामका लागि भण्डारण गर्न सबै वडाबासीलाई सूचना गरिएको छ । वर्षातको पानी सङ्कलन गर्न सबै जसो घरधुरीलाई प्लाष्टिक पोेखरी वितरण गर्ने तयारी पनि उनको छ ।

biruwa1

तर, त्यसका लागि पर्याप्त बजेट नहुँदा समस्या भएको अध्यक्ष लावतीले बताए । अधिकांश वडाबासीले आफ्नो घरमा ३० देखि ५० हजार लिटर क्षमताका प्लाष्टिक पोखरी खरिद गरेका छन् । यसरी जम्मा गरेको पानीबाट खेतबारीमा रोपेका विरुवामा सिञ्चाई गरेर हुर्काउने जिम्मेवारी पाएका छन् । शत प्रतिसत बिरुवा हुर्काउने किसानलाई पुरस्कृत गर्न व्यवस्था गर्ने वडा कार्यालयको उद्देश्य छ ।

सुख्खा सहन सक्ने खयर, टिक, रुद्राक्ष, कालो शिरीष, साझ, चेकरासी, तेजपत्ता, सिमल, गुलमोहर, मोरिङ्गा, मसला लगायतका बिरुवा किसानलाई वितरण गरिने वडा कार्यालयले जनाएको छ । सिञ्चाईको अभावमा अन्नबाली नहुने किसानका खेतबारीमा रुख रोपेर हुर्काउँदा सुख्खा क्षेत्रमा हरियाली कायम हुने र निश्चित समयपछि आमदानीसमेत लिन सकिने भएकाले यस्तो जुक्ति निकालिएको अध्यक्ष लावतीले बताए । सुख्खा क्षेत्रका नागरिकलाई कसरी आम्दानीसँग जोड्ने भनेर यस्तो जुक्ति निकालिएको उनको भनाइ छ ।

निजी वन विस्तार अभियान कार्यक्रम नाम दिएर शुरु गरिएको यो कार्यक्रमका लागि सव डिभिजन वन कार्यालय यासोकले प्राविधिक सहयोग गरेको छ । रुख हुर्किने अवधिसम्मका लागि वन कर्मचारीबाटै प्राविधिक सहयोग लिइने वडा कार्यालयले जनाएको छ । आगामी ३ वर्षसम्म यस कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष लावतीको भनाइ छ । वडाबासीले रोपेका बिरुवा रेखदेखका लागि उनी आफै किसानका खेतबारीसम्म पुगिरहेका छन् । ‘बिरुवामा गरिएको लगानीको शत प्रतिशत सदुपयोग होस् भन्ने उद्देश्यले काम गरिरहेको छु’ उनले भने ।

वडाको ५ हजार १ सय १ हेक्टर क्षेत्रफल मध्ये कृषि उत्पादन हुने १ हजार ९ सय १५ हेक्टर क्षेत्रफल छ । नर्सरीमा उत्पादन गरिएका ४५ हजार बिरुवा बाँझो रहेको २ हजार ८ सय हेक्टरमा वितरण गर्ने वडाले जनाएको छ । पर्याप्त वर्षात हुने असार र साउन महिनालाई आधार मान्दै धमाधम बिरुवा वितरण हुँदै आएको छ ।