धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बढ्दो सडक दुर्घटना, ट्राफिक नियमको उल्लङ्घन, भद्रगोल र असुरक्षित सडकलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदेशका ६ जिल्लामा १०÷१० किलोमिटरमा सडक सुशासनको अभ्यासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताएका छन् ।
प्रदेश १ नं को ट्राफिक प्रहरी कार्यालयद्वारा शुक्रबार धरानमा आयोजित बृहत् सडक सभ्यता अभिवृद्धि एवं सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको भेलामा मुख्यमन्त्री राईले सुरक्षित र व्यवस्थित सडकले मात्र नागरिकको जीवन रक्षा हुने भएकाले प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागेको बताएका हुन् ।
उक्त अवसरमा उनले सङ्घीय प्रणालीमा तीन तहकै सरकारबीच आपसी समन्वयले मात्र जनताको जीउधनको रक्षा गर्दै मुलुकलाई सबल, समृद्ध र सक्षम बनाउन सकिने बताए । उनले भने, ‘सङ्घीयता सरकारको लक्षमा पुग्ने उदेश्य हो । यो एउटै उद्देश्यको लागि तीनवटै तह एकआपसमा विश्वास गरेर समान लयमा हिँड्न सकेमात्र लक्ष्य भेट्न र गन्तव्यमा पुग्न सकिन्छ ।’
उक्त भेलामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको सबै सडक सुशासनयुक्त बनाउने प्रतिबद्धता जनाए । उनले प्रदेश १ मा प्राकृतिक विपत्ति र प्रकोपले भन्दा बढी सडक दुर्घटनाबाट आम नागरिकको ज्यान गएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भण्डारीले सार्वजनिक सडकको क्षमताभन्दा बढी सवारी साधन भएकाले सडक दुर्घटना बढेको बताइन् । उनले यातायात व्यवस्था विभागले सवारीसाधनलाई जथाभावीरूपमा रुट परमिट दिँदा सडक दुर्घटना बढेको बताइन् । उनले विभागले सहर र सडकको क्षमता मुल्याङ्कन गरेर मात्र रुट परमिट दिन आग्रह गरिन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले यातायात व्यवस्था विभागले र सडक विभागले आफ्नो दायित्व पूरा नगरेको बताए । सडकको दुरावस्था, छाडा चौपाया, सडक मिचेर लाग्ने हाट बजारलगायतको व्यवस्थापन गर्नुपर्नेमा जिम्मेवारीबाट पन्छिँदा धेरै दुर्घटना हुने गरेको बताए ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले आम नागरिकका लागि सुरक्षित र व्यवस्थित सडक र अनुशासित चालक र यात्रु सचेत भएमा सडक दुर्घटनामा कमी ल्याउन सकिने बताए । उनले सवारी दुर्घटना कम गर्न सबै सरोकारवालाहरूको भूमिका, सहकार्य र समन्वयको खाँचो रहेको बताए ।