ताप्लेजुङ / गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा क्षेत्रमा पर्यटनमन्त्री रविन्द्र अधिकारीको चढेको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम नै भएको निष्र्कष निस्किएको छ । पर्यटनमन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्दै खराब मौसमलाई नै मूख्य कारण ठहर गरिएको हो ।
पाथिभराबाट काठमाडौं उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । प्रतिवेदनका अनुसार तेह्रथुमको चुहानडाँडावाट उडेको हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । त्यही बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटनामा प¥यो । यस हेलिकोप्टर दुर्घटनालाई छानविन आयोगले ‘एक दूर्भाग्य’ को संज्ञा दिएको छ । दुर्घटना हुनुमा पाईलटलाई दवाव थियो की ? भन्ने त्यतिखेरको संकामा छानविन आयोगले यस्तो नभएको बताएको छ । मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ ।
टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो, तर उच्चपदस्थ अधिकारी कसैबाट पनि पाइलटलाई जहाज उडाउन दवाव नदिइएको आयोगको ठहर छ । आयोगले यस छानविनमा प्रत्यक्षदर्शीलाई मूख्य आधार मानेको छ । पाथीभराका पूजारी तथा स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ । आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ ।
दुर्घटना हुनुमा प्राविधिकतर्फ पनि कुनै कारण फेला नपरेको पनि आयोगको दावी छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भीक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ । उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक हुनेछ ।
१५ फागुन दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।