उदयपुर/ कानूनमा दुईवटा नागरिकता लिन नपाउने व्यावस्था भए पनि उदयपुरका एक व्यक्तिले फरक–फरक जिल्लाबाट दुईवटा नागरिकता लिएको भेटिएको छ ।

कटारी नगरपालिका–४ स्थायी ठेगाना भएकी एक महिलाले वडाअध्यक्षको सिफारिसमा नै उदयपुरबाट नागरिकता लिएकी हुन् ।

साबिक कटारी–३ (हाल कटारी–४) गबुवा निवासी २४ वर्षीया धनमाया राईले सिन्धुली र उदयपुरबाट दोहोरो नागरिकता लिएको खुलेको छ । २०५२ साल वैशाख ४ गते जन्ममिति र बुवा दर्वजित राई, आमा मनसरी राईकी छोरी धनमायाले पति र माइतीबाट नागरिकता लिएको खुलेको हो ।

पतिको नामबाट लिएको नागरिकतामा धनमाया राई उल्लेख भएको छ भने माइतीबाट लिएको नागरिकतामा शितल राई उल्लेख छ । उनले २०६७ सालमा जातीय परम्पराअनुसार दुधौलीका प्रकाश राईसँग विवाह गरेकी थिइन् ।

विवाह गरेको करिब दुई वर्षपछि साविक ककुरठाकुर गाविस वडा नम्बर ६ (हालको दुधौली नगरपालिका)बाट विवाह दर्ता गराइएको थियो । उक्त विवाह दर्ताअनुसार श्रीमान्को नामबाट धनमाया राईलाई सिन्धुली जिल्ला प्रशासन कार्यालयले २०६९ साल माघ २३ गते २०/०१/६९/०३३७५ नम्बरको नागरिकता दिएको थियो । सिन्धुलीबाट नागरिकता लिएकी राईले माइतीपक्षबाट कटारी नगरपालिका ४ नम्बर वडाकोे सिफारिसमा इलाका प्रशासन कार्यालय कटारीबाट २०७४ भदौ २९ गते १४/०२/७४/०१४१२ नम्बरको शितल राई नाम उल्लेख भएको नागरिकता प्रमाण–पत्र लिएकी थिइन् ।

दुई जिल्लाबाट लिइएको नागरिकता प्रमाण–पत्रमा नाम मात्रै फरक तर जन्ममिति, आमा–बाबुको नाम र जन्मिएको ठेगाना एउटै उल्लेख भएको पाइएको छ । कनपा–४ का वडाध्यक्ष कृष्णराज दनुवारले नागरिकताको सिफारिस गरेको खुलेको छ ।

राईले पहिलो नागरिकता सिन्धुलीबाट लिइसकेकाले दोस्रो नागरिकता बनाउनका लागि आर्थिक चलखेल गरेको स्थानीयले आरोप लगाएका छन् । पहिलो नागरिकता पाइसकेका राईलाई दोस्रो नागरिकता दिलाउनका लागि सिफारिस गरेका वडाध्यक्ष कृष्णराज दनुवारले भने पहिलो नागरिकता लिएको भन्ने कुरा थाहा नपाएकाले सिफारिस गरिदिएको बताए । कुनै व्यक्तिको दुईवटा नागरिकता भएको खण्डमा एउटा नगरिकता खारेज हुने वडाध्यक्ष दनुवारले बताए ।

वडाध्यक्ष नै जिम्मेवार व्यक्ति भएकाले आफ्नो वडाको स्थानीयबासी कसले लिएको छ । कसले लिएको छैन भन्ने कुरामा एकिन भई कागज पत्र अगाडि बढाउनु पर्ने इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले बताए ।

वडाबाट सम्पूर्ण आवश्यक कागजपत्रसहित सिफारिस गरी पठाएकाले यसको जिम्मेवारी वडाध्यक्षले नै लिनुपर्ने प्रमुख पौडेलले बताए ।

एकै व्यक्तिको दुईवटा नागरिकता लिएको खण्डमा प्रचलित कानूनबमोजिम लिने र दिने दुवैलाई कारबाही हुने कानूनी व्यवस्था छ । नागरिकता ऐन २०७५ अनुसार यदि कसैले झुटो विवरण दिएर दोहोरो नागरिकता लिएको खण्डमा ५ वर्षसम्म कैद र २० हजार देखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ भने सिफारिस गर्ने व्यक्तिलाई समेत कानूनी कारबाही हुने व्यवस्था कानूनमा उल्लेख गरिएको छ ।