बेलबारी/मोरङको केराबारी ९ को देवीझोडा बस्तीमा खानेपानीको ट्युव वेल सुक्न थालेपछि यतिखेर खानेपानीको समस्या पर्न थालेको छ ।
खानेपानीको ट्युववेलमा पानी आउन छाडेपछि अहिले मानिसहरुलाई दैनिक जीवनमा समस्या आईपर्न थालेको छ । बीस देखि करिब चालीस फिट गहिराई सम्म गाडिएका ट्युव वेलमा अहिले पानी आउन छाडेको छ । खानेपानी आउन छाडेपछि अहिले स्थानीय वासिन्दाहरु वर परका धाराबाट दैनिक उपभोग गरिरहेका छन् । गाईवस्तु तथा सरसफाईका लागि भने पानीको समस्या परेको स्थानीयहरु बताउँछन् ।
करिब ४ सय घर परिवार बसोवास रहेको देवीझोडामा यसरी एकाएक पानीको सुकेको घटना विरलै रहेको स्थानीयहरु बताउँछन् । खानेपानीको ट्युववेल संगसंगै सिचाईको लागि पानी तान्ने केहि मोटरहरुमा समेत पानी आउन छाडेको स्थानीय कृषकहरुले बताएका छन् । पानी तान्ने मटरमा समेत सुक्न थालेपछि स्थानीय कृषकहरु चिन्तित हुन थालेका छन् ।
देवीझोडामा ट्युववेलको अलवा जंगलछेउको जरुवा पानी संकलन गरेर पनि यस अघि खानेपानी आपूर्ति गर्दै आएका थिए । त्यसरी आपूर्ति गरिएका पानीले उपभोक्ताहरुलाई नपुगेको र सहजका कारण गाउँलेहरुले घर घरमा ट्युववेल पनि गाड्दै आएका छन् ।
यसरी एकाएक ट्युववेलमा पानी आउन छाडेपछि स्थानीय वासिन्दाहरु पनि खडेरी मौसमका कारण ठानिरहेका छन् । कतिपयले नजिकैको वन क्षेत्रका रुख कटानले पनि हुन सक्ने अनुमान लगाई रहेका छन् ।
































