उदयपुर/ उदयपुरका एक गाउँको समाल मगर जातिमा देखा परेको अज्ञात रोगले बलबहादुरलाई झनै च्याप्दै गएको छ । रौतामाई गाउँपालिका–६ नामन्ता गाउँका समाल मगर जातिमा देखा परेको रोगले ३० वर्षीय बलबहादुर समाल मगरलाई झनै साह्रो पार्दै लगेको हो ।

गत वैशाख १६ गते गाउँका ७ जना एकैसाथ बिरामी भएपछि उपचार गराउनका लागि उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो । जिल्ला अस्पतालमा रोगको पहिचान हुन नसकेपछि बिरामीहरूलाई अन्यत्र रेफर गरिएको थियो ।

जिल्ला अस्पतालबाट उपचार पाउन नसकेपछि उनीहरू विराटनगरको न्यूरो हस्पिटलमा भर्ना भएका थिए । तर विराटनगरमा पनि रोगको अहिलेसम्म पनि पहिचान हुन नसकेको परिवारले बताएका छन् । न्यूरोमा भर्ना भए पनि रोगको पहिचान हुन नसक्दा तीन थरिको खाने औषधि दिएर घर पठाइदिएको बिरामी मगरले बताए ।

अस्पतालबाट वैशाख १९ गते घर फर्किएका बिरामीहरूमध्ये ६ जना सञ्चो भए पनि बलबहादुरलाई भने रोगले झन् साह्रो पार्दै लगेको उनकी श्रीमती सम्झना समाल गमरले बताइन् ।

न्यूरोले दिएको औषधि खाएपछि अरु बिरामी ठीक भएका छन् । त्यो औषधि खाएपछि ४–५ दिन पूर्णरूपमा सञ्चो भएको मगरले बताइन् । त्यसपछि १५ दिन–रात सुतेको सुत्यै बनाएपछि फेरि काम्न थालेको बताउँदै पहिला हल्का टाउको र हात मात्रै काम्ने मगरको अहिले शरीर सबै काम्ने गरेको श्रीमती मगरले बताइन् ।

टाउको र हात मात्रै काम्ने मगरको अहिले शरीर थामिनसक्ने गरी काम्न थालेपछि जेठ १४ गते अस्पताल लगिएको मगरले बताइन् । १४ गते अस्पताल पु¥याए पनि बिरामीको स्वास्थ्यमा सुधार नआएपछि २३ गते घर फर्काएको परिवारले जनाएको छ ।
खान, बस्न, सुत्न, शौचालय जान–आउन सबै अरुकै सहारा चाहिने मगरले बताइन् । कृषि पेशा गर्दै आएका परिवारलाई अहिले समस्या परेको छ । काम गर्ने श्रीमान् नै बिरामी भएपछि बालबच्चा पढाउन र घरपरिवार चलाउनमा समस्या पर्न थालेको उनले बताइन् ।

समाल मगर जातिमा मात्रै देखा परेको शरीर काम्ने, हल्लिने जस्ता रोगको पहिचान अहिलेसम्म नेपालका कुनै अस्पतालले गर्न सकेको छैन । अस्पतालहरूले वंशाणुगत रोग भएको हुनसक्ने अनुमान गर्ने सिवाय केही नगरेको बिरामीले बताए ।

रोगको पहिचान गर्नका लागि रिपोर्ट विदेश पठाउनु पर्ने र बढी खर्च लाग्ने अस्पतालले जनाएको बिरामीका परिवारजनले जनाएका छन् । रोगको पहिचान गर्न नसक्दा बिरामीले उपचार पाउन गाह्रो भएको उनीहरूले बताए ।