विराटनगर/ पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले आपराधिक क्रियाकलापहरू नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन प्रदेश १ का मुख्य शहरमा सीसी क्यामेरा राखिने भएको छ । प्रदेशका मुख्य शहरमा राखिएका सीसी क्यामेराबाट निगरानी गरेर अपराध नियन्त्रण र प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने भएको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले राजधानी विराटनगरसहितका मुख्य शहरलाई सीसी क्यामेराको निगरानीमा राख्ने भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पहिलो चरणमा प्रदेश १ का ६ जिल्लाका मुख्य शहरहरूमा सीसी क्यामेरा जडान गरिने भएको छ । मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख शहर लक्षित गरी सीसी क्यामेरा जडान गरिने भएको हो । यसका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सडक सुरक्षा तथा सुशासन कार्यक्रमअन्तर्गत ४ करोड ७४ लाख ८१ हजार १ सय ६८ रुपैयाँ विनियोजन गरेर खर्चको अख्तियारी प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ ।

मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत जीवन काफ्लेका अनुसार मोरङमा ५१, झापामा ३०, सुनसरीमा ३८, उदयपुरमा २३, धनकुटामा २३ थान र प्रदेश प्रहरी कार्यालय, प्रदेश सरकारका मन्त्रालयमा १५ थान सीसी क्यामेरा जडान गर्ने योजना छ ।

विराटनगरको रानीदेखि ५० किलोमिटर क्षेत्रभित्र अप्टिकल फाइबर बिछ्याएर राखिने सीसी क्यामेराको निगरानी कक्ष जिल्ला प्रहरी कार्यालय मोरङमा रहनेछ । यसैगरी अन्य जिल्लाको हकमा समेत सम्बन्धित जिल्ला प्रहरी कार्यालयको मातहतमा निगरानी कक्ष रहनेछ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले फाइबर बिछ्याउन र सीसी क्यामेरा खरिदका लागि ठेक्का प्रक्रियामा शुरु भइसकेको जानकारी दिए । बजेटको अख्तियारीसँगै सीसी क्यामेरा जडान प्रक्रिया बढिसकेको उनले बताए । ‘अपराधमा फेरिएको शैलीलाई प्रविधिमार्फत् अनुसन्धान गर्दा प्रभावकारी हुनेछ’ उनले भने, ‘सीसी क्यामेरा जडान गरेपछि अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई सहयोग मिल्नेछ ।’

पछिल्लो समय प्रविधिको विकाससँगै अपराधको शैलीमा परिवर्तन आएको प्रहरीले जनाएको छ । प्रहरीको सङ्ख्यात्मक जनशक्तिभन्दा प्रहरीलाई प्रविधिसँग जोडेर अनुसन्धानमा गुणात्मक फड्को मार्न सकिने निष्कर्षसहित प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको रिजालले जानकारी दिए ।

मोरङका प्रहरी उपरीक्षक विश्वास अधिकारीले प्रदेश राजधानी सुरक्षा लक्षित योजनाअनुसार विराटनगरमा प्रविधिसहित प्रहरी निगरानी बढाइने बताए । हालै सरूवा भई मोरङ प्रहरी प्रमुख भएर आएका एसपी अधिकारीले अवैध आर्थिक गतिविधि र सीमा सुरक्षालाई विशेष ध्यानमा राखिने बताए । उनले वस्तु आयातमा न्यून बिजकीकरण गरेर हुण्डिमार्फत् रकम पठाउने ठूला घरानाको अवैध कारोबारले जन्माउने अपराधमा कडाइ गरिने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ट्राफिक प्रहरीका लागि समेत ब्रेथलाइजर, राडार गन र विनलक खरिदका लागि ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको अधिकृत काफ्लेले जानकारी दिए । सडकलाई सुरक्षित र व्यवस्थित बनाउने योजनासहित ट्राफिकलाई साधनमैत्री बनाउने लक्ष्य राखेर बजेटको व्यवस्थापन गरिएको दाबी गरिन्छ ।