वराहक्षेत्र/ जङ्गली जनावर बँदेलको आक्रमणमा परी वराहक्षेत्र नगरपालिका–२ का डिकबहादुर बस्नेत घाइते भएका छन् ।

आइतबार अपरान्ह करिब साढे पाँचबजे घरबाट बजार जाने क्रममा वडाको पुल्ठेगौंडास्थित घरबाट दुई किलोमिटरको दूरीमा घारीमा लुकेर बसेको बँदेलले आक्रमण गर्दा बस्नेत घाइते भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरीका विश्वनाथ यादवले बताएका छन् ।

बँदेलले हमला गर्दा, बस्नेतको बायाँ हातको एउटा औंलाको आधा भाग चुँडिएको छ भने दायाँ हातको बूढीऔंलाको मासु झुण्डिएको एवम् पेटको देब्रे भागमा टोकिदिएको भन्दै यादवले घटना टिपोट गरेर धरान प्रहरी खबर गरिदिएको उनले बताए ।

बेलुकी घरबाट आठ आरडी र तेह्र आरडीको बीचमा पर्ने सुनसरी–मोरङ सिंचाइ आयोजनाको डाँडाको बाटो भएर साइकलमा बयरवन वजारतर्फ जाँदै गर्दा, घारीमा लुकेर बसेको अन्दाजी ६०–७० किलो तौल भएको बँदेलले एक्कासि झम्टेर पेटमा गहिरो गरी टोकेको र आंैला खाइदिएको घाइते बस्नेतले बताए ।

करिब १५ मिनेटको लडाइँपछि आफू बच्न सफल भएको भन्दै बस्नेतले पेटमा भएको घाउ पोलिरहेको बताए । चिच्याएको सुनेर बारीमा रहेकी उनकी श्रीमती कमला बस्नेत र गाउँलेले ज्यान बचाएको बस्नेतले बताए । स्थानीयले उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

नगरपालिकाको पुल्ठेगौंडामा दुई वर्षदेखि लगातार दिउँसो राति जुनसुकै समयमा समूहमा आएर बँदेलले स्थानीयको धान र मकै खाएर नोक्सानी गरिरहेको भन्दै बँदेल नियन्त्रणको तत्काल व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।