विराटनगर / मोरङको केराबारी गाउँपालिका – ५ का सडक निमार्णको विषयमा विवाद हुँदा चार युवाले आक्रमण गरेर क्रसर व्यवसायीकोे ‘पाता फुस्काउने’ दुई जना पक्राउ परेका छन् ।
इलका प्रहरी कार्यालय बेलबारीले क्रसर व्यवसायी अनिल बस्नेत र बिर्ख थापालाईलाई कुटपिट गरेको आरोपमा धरान पानमाराका विक्रम कटुवाल र केराबारीका बसन्त लिम्बुलाई सोमबार पक्राउ गरेको हो ।
चार जना युवाको समूहले बस्नेत र थापालाई आइतबार दिउँसो केराबारीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । उनीहरूको आक्रमणबाट बस्नेतको बायाँ पाता भाँचिएको निमार्ण कम्पनीका साइट हेर्ने इन्चार्ज नन्द याम्पुले जानकारी दिए । थापा भने सामान्य घाइते भएका छन् । उनीहरूको उपचार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा भई घर फर्केका छन् ।
केराबारीका अमित लिम्बु र हिमाल लिम्बु फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको पनि खोजी कार्य तिव्र बनाएको छ । आक्रमण गरि पक्राउ पर्ने विक्रम यस अघि पनि जघन्य प्रकृतिको अपराधमा संलग्न भएको व्यक्ति हुन् भने बसन्त लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो ।
सुरक्षाको माग
निमार्ण कम्पनीका साइट हेर्ने इन्चार्ज नन्द याम्पुले सडक निमार्णमा केही स्थानिय युवाहरूबाट असुरक्षित हुनुपरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ निवेदन दर्ता गरेका छन् । विभिन्न बखेडा झिक्दै आफुमाथि पनि आक्रमणको प्रयास भएपछि उनले सुरक्षाको माग गरेका हुन् ।