धरान / गएराति विप्लव माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जाको प्रयास गरे पछि सरकारले थप सुरक्षाकर्मी पठाएको छ । सोलुखुम्बु जिल्ला सुरक्षा समितिले घटनास्थलको जोखिमलाई हेरेर थप सुरक्षाकर्मी माग गरेपछि काठमाडौंबाट सेनाको हेलिकोप्टरमा थप प्रहरी पठाएको गृह मन्त्रालयले जनाएको छ ।
गएराती विप्लव माओबादीले सोलुखुम्बुको छेस्काम प्रहरी चौकी कब्जा गर्ने गएका थिए । मध्यराति २५–३० जनाको संख्यामा पुगेका उनीहरु जानु अगावै प्रहरीहरु हतियारसहित चौकी छाडेका कारण उनीहरुको योजना विफल भएको थियो । प्रहरीले सूचना पाए पछि उनीहरु सुरक्षित स्थानमा अगाडी नै गएको बताइएको छ । उक्त प्रहरी चौकीमा हवल्दारको नेतृत्वमा ७ जना प्रहरीरहेका बताइएको छ ।
यता नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले कव्जा भन्ने कुरा नभएको बताएका छन् । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीले विप्लव माओवादीले प्रहरी चौकी कब्जा गर्ने प्रयास नगरेको तर विप्लवका कार्यकर्ताको आवतजावत बढेको बताएका छन् ।