धरान / सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रभित्र अनधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले बताएका छन् ।
नाला निर्माण सुरु गरेपछि वन कार्यालयले लिखित रुपमा स्पष्टिकरण सोधेको थियो । तर स्पष्टिकरणको बेवास्ता गरे पछि पक्राउ पुर्जी जारी गर्नुपरेको उनले बताए । वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालय र कर्मचारी समेतलाई बेवास्ता गरेपछि कानुनले दिएको अधिकार प्रयोग गरी पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ।
मेयर शर्माले पनि वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको बताएका छन् । कार्यापालिकाको निर्णयअनुसार करिब ६ लाखको लागतमा नगरपालिकाले उपभोक्ता समितिमार्फत् नाला निर्माणको काम गरिरहेको उनल ेबताए । नगरको विकासमा बन कार्यलय बाधक बनेको उनको भनाइ छ । यता डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेका मध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य निर्माण समितिका पदाधिकारी हुन्।
वडाध्यक्ष आचार्य विरुद्ध यस अघि नै पुर्जी जारी भएको थियो । बालुवा–गिट्टी तस्करी गरेको आरोपमा आचार्य र उनका छोरा सुशील आचार्य विरुद्ध पक्राउ पुर्जी जारी भएको वन कार्यालयले जनाएको छ। गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टर खोलाबाटै पक्राउ परेको थियो।