धनकुटा । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर छिन्ताङ धनकुटाले आयोजना गरेको ५ दिने जलउत्पन्न प्रकोप उद्धार पुनर्ताजगी तालिमको विशेष प्रदर्शनीकासाथ शनिबार धनकुटाको मूलघाटमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवानको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा डेमोन्स्ट्रेसन कार्यक्रममा छिन्ताङ गुल्मका प्रमुख बालकृष्ण श्रेष्ठले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको प्रतिवेदन सुनाएका थिए ।

सो अवसरमा बोल्दै गुल्म प्रमुख श्रेष्ठले जुनसुकै समयमा हुने विपद् तथा उद्धारको लागि ५० जना सशस्त्र प्रहरी बलका ५० जना जवानलाई ५ दिनसम्म जलउत्पन्न प्रकोप उद्धार पुनर्ताजगी तालिम दिइएको स्पष्ट पारेका छन् । उनले अबदेखि मूलघाटमा २४ घण्टा सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धार टोली सशस्त्र प्रहरी बेस क्याम्प मूलघाटमा तैनाथ हुने पनि बताए ।

श्रेष्ठले छिन्ताङ गुल्म धनकुटाको नेतृत्वमा तमोर नदीमा हुने जुनसुकै खालको विपद् व्यवस्थापन गर्न तालिमको आयोजना गरिएको बताए । उनले धनकुटाको मूलघाटमा साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोगमा उद्धारकक्ष निर्माण गर्ने गरी योजना अघि बढाइसकिएको पनि स्पष्ट पारेका छन् । उनले जेठ १३ गतेदेखि शुरु भएको तालिममा सहभागीहरूलाई तमोर नदीमा अचानक कोही बगेमा तत्काल कसरी सकुशल उद्धार गर्न सकिन्छ भन्नेबारे तालिम दिइएको बताएका छन् । तालिममा रोप रेस्क्यु, अण्डर वाटर रेस्क्यु, स्थानीय स्रोत साधनको प्रयोगबाट गरिने उद्धार र अत्याधुनिक ढङ्गले गरिने उद्धारका विभिन्न चरणका तालिमसमेत सो अवसरमा प्रदान गरिएको थियो ।

तालिममा सिकेका ज्ञान सीपलाई सहभागी प्रहरी जवानहरूले नदीमा बगेर आपत् परेका मान्छेलाई तत्काल उद्धार गरेर कसरी बचाउन सकिन्छ भन्ने प्रदर्शन गरेका थिए । उनीहरूले नदीबाट निकालिसकेपछि गरिने प्राथमिक उपचारदेखि अस्पताल लानेसम्मका उपचार तथा उद्धार कार्यको प्रदर्शन गरेका थिए । सो अवसरमा कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथिलगायत अन्य अतिथिहरूलाई मूलघाटदेखि केही तलसम्म र्याफ्टिङ गराएर जलयात्राको अनुभवसमेत दिलाइएको थियो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवानले धनकुटाका सातै स्थानीय तहले प्रकोप व्यवस्थापनको लागि कार्य योजना बनाएर अघि बढिरहेको बताए । सो कार्यको लागि हरेक स्थानीय तहमा प्रकोप व्यवस्थापन समितिमार्फत् काम भइरहेको पनि प्रमुख चुवानले स्पष्ट पारेका छन् ।

त्यसैगरी सशस्त्र प्रहरी बल १ नम्बर वाहिनीका सहायक बाहिनीपति इन्द्रराज कार्कीले सशस्त्र प्रहरी बल जनसेवकको रूपमा स्थापित भएको संस्था भएको बताएका छन् । जहाँ जनतालाई सेवा आवश्यक पर्छ, त्यहाँ सशस्त्र प्रहरीले सेवा दिँदै आएको सहायक वाहिनीपति कार्कीले बताए । उनले भूकम्प, बाढी–पहिरो, जल उत्पन्नबाट हुने प्रकोपको अवस्थामा होस् वा आगलागीको अवस्थामा होस् क्लस्टर छुट्याएर सेवा दिइरहेको वताए । साथै, उनले भैपरि आउने विपद्ध र प्रकोपलाई न्यूनिकरण गर्न जनचेतना जगाउनेखालका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा सुरक्षा निकायका प्रमुखहरू, सरोकारवाला सङ्घ–संस्थाको प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी छिन्ताङ गुल्म धनकुटाका इन्स्पेक्टर जितेन्द्रबहादुर बस्नेतले गरेका थिए ।