भद्रपुर । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६ सयभन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् ।
मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त सङ्ख्याले देखाएको छ । शनिबार कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा भएको छ । एनएमसीले सहायक अधिकृतस्तरका पाँच, वरिष्ठ सहायकस्तरका आठ र कार्यालय सहायकस्तरका सातजना कर्मचारीका लागि खुला आवेदन मागेको थियो । जसमा एक हजार ६ सय ६ जनाले आवेदन भरेको र उनीहरू सबैलाई लिखित तथा मौखिक परीक्षामा सामेल गरेर २० जना छनोट गरिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
शनिबारै मेचीनगर– १४ स्थित शहीद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसको २० वटा कोठामा ४० जना निरीक्षण खटाएर दुई चरणमा लिखित परीक्षा भएको छ । बचत तथा ऋण कारोवार गर्ने एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डारसमेत सञ्चालन गर्दै आएको छ ।