धरान । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन नगर्दा पानबारीबासीले केही समययता सहजरूपमा खानेपानी पाउन सकिरहेका छैनन् ।
केही उपभोक्ताहरूले धारामा पन्ध्र दिनदेखि पानी नआएको गुनासो गरे । धरान–६ पानबारी जङ्गलछेउका उपभोक्ता देवेन्द्र दाहालले पानी नआएको १५ दिनभन्दा बढी भइसकेको गुनासो गरे । उनले भने, ‘पन्ध्र दिनपछि बल्ल हिजो आयो । त्यो पनि आधा घण्टापछि नै म¥यो ।’ खानेपानी समितिको लापरबाहीका कारण उपभोक्ताले पानी पाउनबाट बञ्चित हुनुपरेको उनको आरोप छ । पानबारीमा अहिले पुग नपुग दुई हजार घरधुरी रहेको छ । समितिले उचित व्यवस्थापन गर्नसके खानेपानी पर्याप्त हुने धरान–५ का वडासदस्य तथा उपभोक्ता हरि राई बताउँछन् ।

‘समस्या घरधुरी बढेर होइन, व्यवस्थापन फितलो भएर हो’ –उनले भने । खोलाको पानी खानेपानीको ट्याङ्कीमा हाल्नका लागि दैनिक कर्मचारीको खाँचो छ । त्यसतर्फ समितिले चासो देखाएको छैन । केही निश्चित कर्मचारीको भरमा काम भइरहेको छ । जसले गर्दा समयमा पानी आपूर्ति हुन नसक्दा खानेपानी अभाव हुने गरेको उनले बताए । ‘कुरा ग¥यो भने हरि राईले विरोध मात्रै गर्छ भनेर भन्छन्’ –उनी भन्छन् । स्थानीय उपभोक्ता सुमन साहका अनुसार कहिलेकाहीँ त चार दिनमा पानी आउने गरेको छ । ‘त्यो पनि कुन समयमा आउँछ भन्ने कुनै पत्तो हुँदैन’–उनले भने । हिउँद लागेपछि पानीको समस्या छ भने वर्षाको समयमा लेदो पानी र पाइपलाइन बगाउने समस्या झेल्दै आएको वर्षौं बितिसकेको छ ।

६ महिनाअघिदेखि शुरु भएको यो समस्या अहिले पनि ज्यूँका त्यूँ रहेको उनी बताउँछन् । उपभोक्ता समितिमा वर्षौंदेखि रमेश बस्नेत अध्यक्ष पदमा बहाल छन् । बस्नेत हाल नेकपाका जिल्ला सचिवसमेत हुन् । उनलाई यसबारेमा बुझ्दा उनले २०५७÷०५८ सालमा ‘डिजाइन’ गरिएको योजनाले अहिलेको अवस्थामा धान्न नसक्ने बताए । यसका लागि प्रदेश सरकारसँग प्रस्ताव हाल्ने तयारी रहेको उनी बताउँछन् । ‘एक हजार घरधुरीका लागि भनेर २०५८ सालमा बनाएको डिजाइन अहिले बढेर १९ सय बढी छ । उपभोक्ता बढेकाले पनि पानी पर्याप्त नपुगेको हो’–उनले भने । समितिमा पनि भागबण्डा मिलाएर सेटिङमा पदाधिकारी चयन हुने गरेको उपभोक्ताको आरोप छ । केही उपभोक्ताले त साधारणसभासमेत भए–नभएको आफूहरूलाई जानकारी नहुने बताउँछन् ।

‘हामी पनि कतिपय ठाउँमा पुगेनौं होला । डिजाइन नै एक हजार घरधुरीका लागि थियो । अहिले दुई गुणा बढेको छ’ उनी भन्छन् । पार्टीगत भागबण्डा नगरी सभाबाटै डिजाइन तयार गरेको उनी दाबी गर्छन् । समितिले क्षेत्र छुट्याएर पानी वितरण गरेको दाबी गरे पनि कुन क्षेत्रमा कुन समय हो भन्ने यकिन नहुँदा अनावश्यक दुःख पाइरहेको उपभोक्ताहरू बताउँछन् । त्यसमा पनि पुरानो र नयाँ ट्याङ्कीका उपभोक्तालाई फरक–फरक पानी वितरण गर्ने कारणले पनि समस्या भइरहेको उपभोक्ता दाहालको कथन छ । ‘यो क्षेत्रका हामी कतिपय नयाँ ट्याङ्कीवाला छौं । पुरानोमा आइरहन्छ’–उनले भने । तर, पुरानो ट्याङ्कीबाट खानेपानी पिउँदै आएका उपभोक्ता दलबहादुर श्रेष्ठ पानी आउने टुङ्गो नहुँदा समस्या हुने गरेको बताउँछन् । ‘दिनमा एक पटक त आउँछ तर यतिखेर आउँछ भन्ने टुङ्गो हुँदैन’–उनले भने ।

यस्ता समस्याबाट स्थानीय उपभोक्ता आजित छन् । समितिमार्फत् पानी वितरणमा खटिएका कर्मचारी भीम खनालले क्षेत्रगत रूपमा २ देखि ३ घण्टा पानी वितरण गरेको दाबी गरे । उनले मुहानमै पानीको समस्या भएकाले पनि पानी आलोपालो प्रणालीमा दिँदै आएको बताए । ‘मुहानमै पानी छैन, एकैचोटी दिन सकिँदैन’ उनले भने, ‘आलो–पालो मिलाएर दिइरहेका छौं ।’ उनले खानेपानीको ट्याङ्की नथपुञ्जेलसम्म समस्याको समाधान नहुने बताए । हाल ६ वटा रिजभ्र्वायर ट्याङ्की छन् । जुन १० हजार लिटर क्षमतादेखि ७५ हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । जसको कुल क्षमता एक लाख ९० हजार लिटर क्षमता रहेको उनले बताए ।