विराटनगर/ अव्यवस्थित पार्किङका कारण प्रदेशको १ को राजधानी विराटनगर अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापन प्रभावकारीरूपमा हुन नसक्दा महानगरपालिका क्षेत्र अस्तव्यस्त बनेको हो । 

बजार क्षेत्र र सेवाग्राहीको आगमन हुने स्थानमा बढी अस्तव्यस्त हुने गरेको छ । विराटनगरस्थित जिल्ला अदालत, मालपोत कार्यालय मोरङ र मुख्य बजार क्षेत्रको सडक छेउमा अव्यवस्थित पार्किङले सडकनै कब्जा गरेको छ । उक्त स्थानहरूमा ट्राफिक प्रहरीले व्यवस्थापन गर्न नसक्दा पार्किङले सडक अस्तव्यस्त बनेको सेवाग्राहीहरू बताउँछन् ।

मालपोत कार्यालयमा सेवा लिन पुगेका विराटनगरका पूर्णबहादुर खड्का मङ्गलबार मुस्किलले उक्त कार्यालयमा पुगे । ‘हस्पिटल चौकदेखि उत्तर लागेर मालपोत कार्यालयतर्फ लागेपछि सडकै भरी सवारी साधनले ढाकेको हुन्छ,’ उनले भने । यसरी अव्यवस्थित रूपमा राखिएको सवारी साधनको कारण समस्या भोग्ने खड्का प्रतिनिधि पात्र मात्रै हुन् ।

यस स्थानमा व्यवस्थित पार्किङस्थल नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नगर क्षेत्रका मुख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरू सवारी साधनका कारण सडक नै कुरूप देखिन थालेको छ । महानगरले सडकपेटीका पसललाई हटाए पनि सवारी पार्किङले अस्तव्यस्त बनेको हो । ट्राफिक व्यवस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्तरूपमा काम गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन ।

योसँगै छाडा चौपायका कारणसमेत बजारको आवागमन प्रभावित हुन पुगेको स्थानीय बताउँछन् । निर्माणाधिन ६ लेन सडक पनि मालबाहक ट्रक, बस, जीप, कारको पार्किङ स्थल बनेको छ । मुख्य सडक क्षेत्रको दायाँबायाँ दुवैतर्फ निर्वाधरूपमा क्षेत्रीय आयल निगम कार्यालय आसपासका सडक क्षेत्रमा ट्याङ्करहरू राखिँदै आए पनि कारबाहीतर्फ ट्राफिक प्रहरीले चासो देखाएको छैन । महानगरले विराटनगर बजार क्षेत्रमा पार्किङ शुल्क उठाउने ठेक्का कोशी बहिरा सङ्घलाई दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर शिवकुमार पोखरेलले महानगर क्षेत्रमा सडक निर्माणाधिन भएकाले ट्राफिक व्यवस्थापनमा चुनौती आएको बताए । ‘नगर क्षेत्रमा अहिले जताततै सडक निर्माण भइरहेका छन्,’ उनले भने, ‘ड्राइभर्सन नगरी काम गर्दा सवारीसाधानको चाप हुने गरेको छ ।’