यासोक/पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिकाको लुमुघाटमा डुबेर एक युवा बेपत्ता भएका छन् ।

कुम्मायक गाउँपालिका–१ यासोकका २१ वर्षीय डिल्ली नेम्बाङको तमोर नदीमा डुबेर बेपत्ता बनेका हुन् । साथीहरूसँग तमोरमा पौडी खेल्न गएका नेम्बाङ डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । गाउँपालिकाको महेन्द्रदोय मावि स्याबरुम्बामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका नेम्बाङ तमोर नदीमा पौडी खेल्न पुगेका थिए ।

उनी पौडी खेल्ने क्रममा सोमबार दिउसो २ बजे बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीमा सइ दानबहादुर चौहानको नेतृत्वमा प्रहरी टोली खटिएको छ । साथै स्थानीयहरूले पनि खोजीमा चासो देखाएका छन् ।