विराटनगर/ विराटनगर–१३ मा रहेको बागमती प्लाष्टिक उद्योगले श्रमिकहरूमाथि श्रमशोषण गरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । सरकारले तोकेकोे श्रम ऐन उक्त उद्योगले लागू नगरेपछि त्यहाँ काम गर्ने मजदुरहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् ।
बागमती प्लाष्टिक उद्योगले कार्यरत श्रमिकको श्रमशोषण गरेको भन्दै मजदुरहरूले १२ बुँदे माग अगाडि सार्दै सोमबारदेखि आन्दोलनमै उत्रिएका छन् । उद्योगलाई श्रमिकहरूले श्रम ऐन लागू गर्न बारम्बार भन्दा पनि लागू नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरू बताउँछन् । सरकारले लागू गरेको न्यूनतम् बेतन दिन माग राख्दा उद्योग व्यवस्थापन समितिले उल्टै केही कर्मचारीहरूलाई कामबाट निकाल्ने धम्की दिँदै आएको त्यहाँका मजदुरहरू बताउँछन् ।
श्रम ऐन लागू गर्न र कर्मचारीहरू एकजुट भएर ट्रेड युनियन उद्योगमा खोल्दा व्यवस्थापकले पाँचजना कर्मचारीलाई कामबाट हटाएको समाजवादी ट्रेड युनियन प्रदेश नम्बर १ का महासचिव राजेश यादवले बताए । उनका अनुसार कुलदीप यादव, सचिन राय, सुबोध यादव, अनिल महतो र दीपक राजवंशीलाई उद्योगले कामबाट हटाएको छ ।
उद्योगमा काम गर्ने मजदुहरूलाई १२ घण्टा काममा लगाएर ५ सय १७ रुपैयाँ दिने गरेको मजदुरहरूले बताए । अहिले आएको श्रम ऐनले मजदुरलाई श्रममा लगाएबापत प्रतिघण्टा ७५ रुपैयाँ दिनुपर्दछ । तर, बागमतीले प्रतिघण्टा ४३ रुपैयाँ मात्र दिँदै आएको मजदुरहरू बताउँछन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरले हटाइएका मजदुरहरूलाई तुरून्त पुनर्बहाली र श्रम ऐन लागू गर्न निर्देशन दिएको छ । तर श्रम कार्यालयले दिएको निर्देशन उद्योगले पालना नगरी अटेर गरेको मजदुरहरूले बताए । उद्योगले काम गर्दा चाहिने आवश्यक लुगा, मास्क, जुत्ताजस्ता आवश्यकीय साधनसमेत उपलब्ध नगराउँदा काम गर्न गाह्रो हुने गरेको उनीहरू बताउँछन् ।
श्रमिकहरूले काम गरिरहेका सबै कर्मचारीलाई श्रम ऐनअनुसार नियमित कर्मचारीको रूपमा नियुक्त गरिनु पर्ने, श्रम ऐनले तोकेका सबै सेवा सुविधा उपलब्ध गराउनु पर्ने, भत्ता पाउनु पर्ने, ओभर टाइम काम गरेको पारिश्रमिक श्रम ऐनले तोकेअनुसार पाउनुपर्ने, जीवन बिमा गराउनु पर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासङ्घका केन्द्रीय सह–अध्यक्ष जोगीलाल यादवले उद्योगले मजदुहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले नियमित काम गरिरहेका श्रमिकलाई श्रम ऐनले तोकेअनुसार सेवा सुविधा दिनुपर्ने बताए ।
यता बागमती उद्योगका एक्जुकेटिभ डाइरेक्टर अमित राठीले श्रम ऐनले तोकेबराबरको तलब मजदुरहरूलाई दिँदै आएको दाबी गरे । ‘हाम्रो उद्योग अहिले क्षमताअनुसार चलेको छैन’ उनले भने, ‘प्रत्येक दिन ८ देखि १० घण्टा चल्छ । त्यही भएर काम गरेबापत मजदुरलाई पैसा दिने गरेका छौं ।’ मजदुरलाई कामबाट हटाएको विषयमा बुझ्दा उनले भने, ‘काममा लगाउँदा हामी सम्झौता गर्दछौं । उनीहरूको सम्झौता अवधि सकियो । करार अवधि सकिएकाले कामबाट हटाएका हौं ।’
































