इटहरी/ इटहरी उपमहानगरपालिकामा भएका भ्रष्टाचार छानबिन गर्न नेपाली काङ्ग्रेस इटहरीले माग गरेको छ । काङ्ग्रेसले उपमहानगरपालिकाभित्र भइरहेको भ्रष्टाचारको भण्डाफोर अभियान चलाउने भएको छ ।
काङ्ग्रेसले शनिबार पत्रकार सम्मेलन गर्दै कर्मचारीहरूले जनतालाई दुःख दिइरहेकाले तत्काल छानबिन समिति बनाउन इटहरी उपमहानगरपालिकालाई माग गरेको छ । नेपाली काङ्ग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले इटहरीको भ्रष्टाचारको विषयमा छानबिन नगरेसम्म काङ्ग्रेसले भ्रष्टाचार विरोधी अभियान चलाउने बताए ।
इटहरीका मेयरको हर्कतविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए । भ्रष्टाचारको नाममा कर्मचारीहरूलाई कानूनविपरीत कुटपिट गरेकोप्रति समेत काङ्ग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । कानूनी राज्यको खिल्ली उडाउँदै मेयरले कर्मचारी र पत्रकारलाई गरेको दुव्र्यवहारप्रति खेद प्रकट गरेको छ । नेपाली काङ्ग्रेसबाट मेयरका प्रत्यासी काङ्ग्रेस नेता रोहित प्रसाईले इटहरी उपमहानगरपालिकामा हुने गरेको भ्रष्टाचारको छानबिन मेयरले नै गर्नुपर्ने माग गरेका छन् । सार्वजनिक रूपमा मेयरले गरेको हर्कतको विषयमा आफूहरू गम्भीर भएको उनले बताए । कर्मचारीहरूलाई सम्बन्धित निकायबाट छानबिन नगरी कुटपिट गर्नु कानूनको खिल्ली उडाएको उनको भनाइ थियो ।
सार्वजनिकस्थलमा पत्रकारहरूलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेकोप्रति समेत नेपाली काङ्ग्रेस इटहरीले आपत्ति जनाएको छ । जनतालाई सुसूचित गर्ने पत्रकारमाथिको अपशब्द तथा दुव्र्यवहारप्रति काङ्ग्रेसले खेद प्रकट गरेको छ ।
खानेपानीमा छानबिन गर्न माग
काङ्ग्रेसले खानेपानी इटहरीका अध्यक्ष तथा नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद चौंलागाईंले खानेपानीमा भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको छ । खानेपानीको पाइप बिछ्याउँदा, खरिद गर्दा र जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले उनलाई सार्वजनिक कार्यक्रममा झापड हानेका थिए ।
खानेपानी उपभोक्ता समितिमाथि छानबिन गर्न नेपाली काङ्ग्रेस इटहरीले माग गरेको छ । मेयर चौधरीले खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चांैलागाईंले व्यापक भ्रष्टाचार गरेको अभिव्यक्ति दिएसँगै काङ्ग्रेसले छानबिनको माग गरेको हो ।
गत मङ्गलबार नेकपाको पदस्थापना कार्यक्रममा रामप्रसाद चौंलागाईंलाई मेयरले ‘भ्रष्टाचारी होस्’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । तत्कालीन एमालेका नगर इञ्चार्जसमेत रहेका चौंलागाईंलाई खानेपानीमा व्यापक भ्रष्टाचार गरेको भन्दै झापड हानेपछि काङ्ग्रेसले स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेको नेपाली काङ्ग्रेस इटहरीले जनाएको छ ।
त्योसँगै विभिन्न ठाउँमा हडपेको ऐलानी जग्गा खोजीकार्यमा पूर्वाग्रही नबन्नसमेत काङ्ग्रेसले आग्रह गरेको हो । ऐलानी जग्गासमेत चौंलागाईंले लामो समयदेखि हडप्दै आएको समेत बताइएको छ । ऐलानी जग्गा खोजी अभियानलाई तीव्र बनाउन काङ्ग्रेसले माग गरेको छ । त्यस्तै वडाअध्यक्ष र सचिवहरूलाई लात्ती हान्ने मेयरको अभिव्यक्ति फिर्ता लिन काङ्ग्रेसले माग गरेको हो ।
पत्रकार महासङ्घको अल्टिमेटम
इटहरीमा पत्रकारको सुरक्षालाई लिएर नेपाल पत्रकार महासङ्घ सुनसरी चिन्तित बनेको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि गरेको दुव्र्यवहारको घटना र त्यसपछि पनि निरन्तर दुव्र्यवहार गर्ने चेतावनीप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले इटहरीका मेयरलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।
प्रश्न सोधेकै कारणले दुव्र्यवहार भोग्नुपरेका पत्रकार र थप पत्रकारहरूलाई दुव्र्यवहार गर्न मेयर चौधरीको चेतावनीले पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उब्जिएको नेपाल पत्रकार महासङ्घले ठहर गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर बन्दै आत्मालोचना र माफी माग्न आग्रह गरेको छ । यस्तै उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिप्रति पनि महासङ्घले चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएको छ ।
महासङ्घका अध्यक्ष अमर खड्का र सचिव हिमाल दहालद्वारा जारी विज्ञप्तिमा घटनाप्रति जिम्मेवार बन्न आग्रह गरिएको छ । पत्रकार र पत्रकारिता क्षेत्रको स्वाभिमानको रक्षा गर्दै निर्वाधरूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न उपमहानगरसहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण पनि गराएको छ ।
































