बिर्तामोड/ झापाको धुलाबारीमा एक साताअघि भएको दुर्घटनाका चालक र सवारीलाई प्रहरीले कारबाही नै नगरी भगाएको आरोप पीडित पक्षले लगाएका छन् ।
प्रहरीसँगको मिलेमतोमा चालक र भारतीय मालबाहक ट्रकलाई भगाएको दुर्घटनाका पीडित डाक्टर दीपक पौडेलको आरोप छ । उनका अनुसार प्रहरीले आफूमाथि अन्याय गरेको छ । बालरोग बिषेशज्ञ पौडेल दुर्घटनापछि उजुरी लिएर गए पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको आरोप लगाए ।
वैशाख ३० गते धुलाबारीबाट बिर्तामोड आउने क्रममा धुलाबारी नजिकै पौडेल सवार बा १२ च ३४३६ नम्बरको कार भारतीय मालबाहक ट्रकसँग ठक्कर खाएको थियो । ठक्करपछि धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको दुइवटै सवारी साधनमध्ये भारतीय ट्रकलाई त्यसको अर्काे दिन नै छोडेको डाक्टर पौडेलले बताए ।
त्यो बेला उनको दायाँ हातमा सामान्य चोट लागेको थियो भने उनी सवार कारमा पनि क्षति पुगेको थियो । कार मर्मत गर्न १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने पौडेलले दाबी छ । उनले दुर्घटनामा संलग्न सवारी साधनलाई सहमतिबिनै छाड्न नहुने बताए । ‘मैले निवेदन दर्ता गर्दा गर्दै ट्रक छोडियो,’ पौडेलले भने, ‘प्रहरीको यसमा मिलेमतो भएको हुनुपर्छ ।’
इप्रका धुलाबारीका इन्स्पेक्टर टिकाबहादुर कार्कीले दुर्घटनामा डाक्टर पौडेल सवार कारकै गल्ती भएको दाबी गरे । छलफल गरेर पौडेलकै सहमतिमा ट्रक छोडेको दाबी पनि गरे । ‘भारतीय ट्रक भए पनि त्यसको साँहु नेपाली हो, कार्कीले भने, ‘हामीले बोलाएको समयमा उपस्थित हुने शर्तमा छोडेका हौं ।’ उनले बोलाएको समयमा उपस्थित हुने शर्तमा छोडेको भनेपनि शनिबार तय भएको छलफलमा ट्रक मालिक नआएको बताए ।