रङ्गेली/ बाली खेतमै सुक्ने अवस्था आएपछि मोरङको मध्यभागका किसानहरू अहिले पुर्पुरोमा हात लगाउन पुगेका छन् । सिंचाइ समयमा नहुँदा उत्पादन आधा घटेपछि किसान चिन्तित बनेका हुन् ।
समयमा सिंचाइ गर्न नपाउँदा हिउँदे बाली आधा घटेको रङ्गेली नगरपालिका–३ का कृष्ण खत्रीले बताए । ‘सुनसरी–मोरङ सिंचाइको नहरमा पानी नआउँदा समयमा गहुँमा पानी लाउन पाइएन’ उनले भने, ‘भाडामा पम्पसेट ल्याएर पानी लगाउँदा ढिलो भइहाल्यो ।’ गहुँबालीलाई तीन पटकसम्म पानी लगाउनु पर्ने हुन्छ । यस क्षेत्रमा हाइब्रिड मकैबाली लगाउने किसानहरूको पनि अवस्था उस्तै रहेको छ ।
सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरबाट खेती बाली लगाउने अन्य किसानहरूको पनि हालत उस्तै रहेको छ । हिउँदे नगदेबाली सिंचाइ नहुँदा उत्पादन नहुने भएपछि किसानहरूले आधासरो खेत बाँझै राखेका छन् । मोरङ बेलबारी नगरपालिका–५ कसेनीमा लोहन्द्रा खोलाको पुलसँगै बाढीले सुनसरी–मोरङ सिंचाइ आयोजनाको साइफन २०७४ साउन २८ गते भत्काएपछि किसानहरूको यस्तो हविगत भएको थियो । उक्त बाढीले पुल र साइफन बगाएसँगै तल्लो भेगका किसानहरूले सिंचाइको लागि ठूलो सास्ती खेप्नुपरेको छ । रङ्गेली नगरपालिकाको रञ्जनी, निशानथालनलगायतका आसपासका क्षेत्रका किसानले सिंचाइ गर्न आकाशको भर पर्नुपर्ने अवस्था पुगेका छन् । यस्तै अवस्था होक्लाबारी, बाहुनीका किसानको पनि रहेको छ ।
मुख्य बालीको रूपमा रहेको धानको समय नजिकिँदै गर्दा किसानहरू सिंचाइको चिन्तामा छन् । गतवर्ष धान खेतीको समयमा पर्याप्त वर्ष नभइदिँदा किसानहरूले पानी किनेर खेती गर्नु परेको थियो । धानखेतीको लागि पानी प्रशस्त आवश्यक हुन्छ । वर्षा नभएको अवस्थामा पम्पसेटबाट पानी लगाउनु पर्ने हुन्छ । यसले किसानहरूलाई अत्यधिक आर्थिक भार पर्न जान्छ । पर्याप्त पानी पु¥याउन नसक्दा उत्पादनसमेत घटेको किसानहरू बताउँछन् । गतवर्षको धान खेतीको उत्पादन पानीको पैसा र जनमजदुरलाई दिँदै ठिक्क भएको किसान पदम बस्नेतले बताए । उनले भने, ‘आफूलाई त हातलाग्यो शून्य ।’
२०७४ साउन २८ गते लोहन्द्रामा आएको बाढीले पुल र १ सय ५३ मिटर लामो साइफन भत्किएपछि १२ हजार ३ सय ६५ हेक्टर खेतीयोग्य जमिन सिंचाइबाट बञ्चित भएको छ । अहिले सयौं किसानहरू आकासको पानीको भर पर्नुपर्ने अवस्थामा पुगेका छन् । बाढीले लोहन्द्राको पुल र मूल नहर भत्काएर क्षति पु¥याएको विषयमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सङ्घीय सरकारका जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनसम्मले निरीक्षण गरिसकेका छन् । मोरङको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने भएकोले सङ्घीय सांसद् अमनलाल मोदीसहित प्रदेशसभा सदस्य विजय विश्वासले पनि पटक–पटक उक्त स्थानको निरीक्षण गरिसके पनि पुल र साइफन निर्माणको काम भने अगाडि बढ्न सकेको छैन ।
यसबारे तत्काल समाधान खोज्दै झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिए पनि समस्याको दीर्घकालीन निकास नहुने भएकोले पुल निर्माणकै प्रक्रियामा जोड दिएको बेलबारी नगरपालिका–५ का वडाअध्यक्ष विश्वबन्धु बस्नेतले बताए । आगामी वर्षको बजेटमा समेटिएर ठेक्का प्रक्रियामार्फत् निर्माण सुरु हुने विश्वासमा वडाअध्यक्ष बस्नेत छन् । लोहन्द्रामा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनले पुल निर्माणकोलागी ५६ करोड लाग्ने भएको छ । बजेट भने विनियोजना भएको छैन । बहुवर्षे योजना अन्तर्गत निर्माण हुने भएकोले अझै तीनवर्षसम्म त्यस क्षेत्रका किसान सिंचाइको अभाव खेप्नुपर्ने देखिन्छ ।
सुनसरी–मोरङ सिंचाइ आयोजनाले भत्किएको स्थानदेखि ५ किलोमिटर उत्तर लोहन्द्रा खोलामा बाँध बाँधेर मूल नहरमा पानी ल्याए पनि नहर आसपासका किसानलाई मात्र ठिक्क हुन्छ ।