झापा । झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले १२९ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर एकबर्षको पारिश्रमिक मजदुरलाई प्रदान गरेका छन् ।
नगर प्रमुख पोखरेलले बुधवार पहिलो वर्षको ३ लाख २५ हजार ४ सय ६० रुपैयाँ पारिश्रमिक कनकाई नगरपालिका मजदुर हितकोष सञ्चालक समितिलाई हस्तान्तरण हुन् ।
५ लाख रुपैयाँबाट शुरु गरेको मजदुर हितकोषमा १५ लाख ५० हजार रुपैयाँ भएको नगर प्रमुख तथा हितकोषका अध्यक्षसमेत रहेका पोखरेलले बताए । ‘कनकाई नगरले नगरका मजदुरलाई सहयोग पुर्याउने उदेश्यले पहिलो मजदुर हितकोष स्थापना गरेको हो’ नगर प्रमुख पोखरेलले भने ‘यस कोषलाई एक करोड पुर्याउने लक्ष्य राखेका छौं ।’
उनले १० जना मजदुरको विमा गरेको बताउँदै नगर प्रमुख पोखरेलले भने ‘ मजदुर घाइते भएमा ३ लाख रुपैयाँसम्म खर्च व्यहोर्ने र १० लाख रुपैयाँ क्षतिपुर्ति दिने लक्ष्य राखेका छौं ।’
समितिमा थप छलफल गरेर आफ्नो कार्यकालमा एक करोडको मजदुर हितकोष स्थापना गर्ने नगर प्रमुख पाखरेलले बताए । मजदुरकोषबाट राम्रो पढ्ने मजदुरका छोराछोरीलाई डाक्टर पढ्ने वातारण समेत सिर्जना गरिने उनले जानकारी गराए ।
सोही कार्यक्रमका विच पुराना मजदुर नारायणप्रसाद रिजाल, सवारी चालक पुष्प भट्टराई, पेन्टर महिला कल्पना नेपाल र हप्पनमई किस्युलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य एलपी साँवा, नगरप्रमुख पोखरेल, उपप्रमुख मञ्जु प्रसाईलगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।
कार्यक्रमको आयोजना मजदुर हितकोष र नेपाल स्वतन्त्र जडान तथा निर्माण युनियनले संयुक्त रुपमा गरेका थिए । जडान तथा निर्माण युनियन कनकाई अध्यक्ष केशव न्यौपानेले गरेको कार्यक्रममा जडान तथा निर्माण युनियन झापा अध्यक्ष सचिन लामा, कनकाई नगरका प्रशासकीय अधिकृत खरुदेव चुडाल, नेकपा कनकाई अध्यक्ष रविन्द्र लम्साल, नेपाली काँग्रेसका नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, राप्रपा नगर अध्यक्ष ज्योती उप्रेती, कनकाई नगर वडा नं. २ का अध्यक्ष पर्शुराम गिरीलगायतको उपस्थिति रहेको थियो । मजदुरहरुले कार्यक्रम अघि सुरुङ्गा बजार परिक्रमा गरेका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।
































