प्रहरीको सुरक्षा व्यवस्थापन कमजोर भएको ठहर
पथरीमा डीएसपी राख्ने पहल
भूपेन्द्र तिम्सिना
पथरीशनिश्चरे
मोरङको पथरीशनिश्चरे नगर अपराधिक मनोवल बढ्नुमा सुरक्षा निकायको कमजोरी ठहर गर्दै नगरवासीले सुरक्षा व्यवस्थापन मजबुत गर्न चौतर्फी माग गरेका छन् ।
प्रदेश र स्थानीय जनप्रतिनिधि सहित प्रहरी प्रशासन तथा समाजका अगुवाहरुसँग यस्तो माग राखेर नगरको सुरक्षा चिन्ता जाहेर गरिरहेका छन् । अपराधलाई निरुत्सहित गरी शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सक्रिय बनाउनु पर्ने जनप्रतिनिधि, सामाजिक अगुवा सहितका नगरवासीले ठहर गरेका छन् ।
नगरवासीले वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी व्यवसायी रिना वस्नेतको हत्या नै भएको आधारहरु प्रस्तुत गर्छन् ।
गृहमन्त्रीसँग डिएसपीको दरवन्दी माग
प्रदेश सांसद सूयर्माराज राईको अगुवाईमा बसेको सर्वपक्षीय भेलामा सांसद राईले नगरको शान्ति सुरक्षाको व्यवस्थापन गर्न प्रहरी प्रशासन चुकेको ठहर गर्दै नगरमा डीएसपीको कमाण्डमा बढी संख्यामा प्रहरी व्यवस्थापनको पहल थालिएको सुनाए । ‘यहाँको शान्ति सुरक्षाको विषयमा सदनमा कुरा उठाएको छु । डीएसपी राख्नु पर्ने कुरा पनि अघि बढाएको छु ।’– उनले भेलामा भने । उनले व्यवसायी महिला रिनाको रहस्यमय मृत्यु प्रकरण सहित आपराधिक गतिविधिको सुरक्षित थलोका रुपमा पथरीशनिश्चरेलाई चिनाउने दुस्साहस गर्ने पक्षलाई सवैको सहकार्यमा निरुत्साहित पार्न लाग्नु पर्नेमा जोड दिए ।
यसैबीच, पथरीशनिश्चरेमा श्रृंखलावद्ध रुपमा भएका आपराघिक घटनाको तुरुन्त सत्य तत्य छानविन तथा डिएसपीको दरवन्दी माग गर्दै विराटनगर आएका संघीय गृहमन्त्री रामबहादुर थापा बादललाई विहीवार नगर प्रमुख दिलिपकुमार राईले ज्ञापनपत्र बुझाएका छन् । साथमा प्रहरी प्रमुख सर्बेन्द्र खनालको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रदेश गृहमन्त्री हिक्मतबहादुर कार्कीले अस्थायी रुपमा डिएसपीको दरवन्दी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको जनाए ।
पथरीशनिश्चरे नगरप्रमुख राईले पनि जंगल क्षेत्रको बीचमा रहेको नगर र आसपासको क्षेत्रका लागि हाल रहेको इन्सपेक्टरको कमाण्डको ठाउँँमा डिएसपीको कमाण्ड आवश्यक पर्ने भन्दै यस अघिदेखि प्रदेश सरकारमा कुरा राखिरहेको उल्लेख गरे । ‘सवै पक्षको सहकार्यमा नगरको शान्ति सुरक्षाको व्यवस्थापनमा हामी लागौं ।’– उनले वुधवारको सर्वपक्षीय भेलामा समेत भनेका थिए ।
भेलामा, समाजसेवी वीरबहादुर वस्नेत, नेपाली कांग्रेसका ३ नम्वर क्षेत्रीय सभापति गणेश वस्नेत, पूर्व नगर विकास समितिका अध्यक्ष पर्शुराम कार्की, पथरी उद्योग वाणिज्य संघका महासचिव अशोक सम्पाङ, लायन्स क्लबका महासचिव रोशन बुढाथोकी, रिना रहस्यमय मृत्यु प्रकरण संघर्ष समिति सदस्य मञ्जरी घिमिरे, जेसीजका दीपेन्द्र तिम्सिना, समाजसेवी बालकुमार मगर, पत्रकार अर्जुन जम्नेली राई लगायतले सुरक्षा व्यवस्थाप्रति चिन्ता जाहेर गरे । सहभागिले रिना सहित यसअघि भएका रहस्यमय मृत्यु प्रकरणका षडराज तामाङ सहितलाई सुक्ष्म रुपले प्रहरीले अनुसन्धान जारी राख्नुपर्ने समेत माग गरेका छन् । घोप्टो अवस्थामा भेटिएको षडराज र रिनाको शवको प्रकृति एउटै रहेकोले पनि एकै प्रकारको आपराधिक श्रृंखला अघि बढेको हो कि भन्ने त्रास समेत छाएको छ ।
यसैवीच, नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईको जनप्रतिनिधिको टोलीले विहीवार इलाका प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य चाँडो बाहिर ल्याउनका लागि सक्रियतापूर्वक अनुसन्धान अघि बढाउन अनुरोध गरेको छ ।
इन्स्पेक्टरलाई विभागमा तानियो
इलाका प्रहरी कार्यालय पथरी प्रमुख इन्सपेक्टर कमल बजगाईंले सक्रियतापूर्वक अनुसन्धान कार्य अघि नबढाएको आरोपमा उनी त्यहाँबाट हटाइएका छन् । जिल्लाले उनको ठाउँमा सुवास भट्टराईलाई जिम्मेवारी दिइसकेको छ । जिल्ला प्रहरी कार्यालयले डिएसपी नवराज ढुंगानालाई रिना मृत्यु प्रकरणको अनुसन्धानको अगुवा बनाएर मंगलबारदेखि पठाएको छ ।
रिनाको पोष्टमार्टमा रिपोर्ट आयो
पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट समेत आएको र वाँकी आउन बाँकी भिसेरा सहितको रिपोर्टपछि तथ्य यकिन गर्न सकिने ढुंगानाको भनाई छ । उनले रिनाको यौन दुराचारबाट मृत्यु नभएको पोष्टमार्टमको रिपोर्टले देखाएको वताए । गर्भवती समेत नभएको अवस्था रिपोर्टमा भएको पनि उनले उल्लेख गरे । अन्यत्र मारेर ल्याएको भन्ने कुराको पनि तथ्य फेला परिनसकेको उनको भनाई छ । अनुसन्धानका क्रममा दर्जनौंसँग लिखित र मौखिक सोधपुछ गरिएको छ । राती ठेलामा केही शंस्कास्पद वस्तु लगेको जस्तो देखिएको सीसी क्यामेराको फुटेजको पनि अनुसन्धान गरी ठेला चालकलाई समेत सोधपुछ गरिएको ढुंगानाले वताए । तर ठेलामा पौने ५ वजे विहान सब्जी ल्याएको भन्ने खुलेको सुनाए । पोलिग्राम सहितको प्रविधिको प्रयोगको समेत प्रक्रिया अघि बढेको छ । ‘हालसम्मको पोष्टमार्टम रिपोर्ट र अनुसन्धानको क्रममा अन्यत्र मारेर सडकमा ल्याएको पुष्टि भएको छैन । जहा शव भेटियो, त्यहीँ नै मरेको बुझिन्छ । अझै सुक्ष्म अनुसन्धानले केही दिनमा तथ्य पत्ता लाग्छ ।’– उनले भने । रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ । रिनाको शव दाहसंस्कार नगरी पोष्टमार्टमपछि पनि धरानमै राखिएको छ ।
घटनालाई प्रदेशको प्रहरी अनुसन्धान विभागका प्राविधिक सहित जिल्ला र इलाका प्रहरी कार्यालय पथरी र उर्लावारी सहितले अनुसन्धान गरिरहेको छ ।