धरान/ एमालेको नौ महिने सरकारको पालादेखि शुरु भएको वृद्धभत्ता बहुमतीय सरकारको पालामा वृद्धि हुनेमा वृद्धवृद्धा आशावादी छन् । 
 
तर, बहुमतीय सरकार बनेको एक वर्ष पूरा भइसक्दा पनि आश्वासनबाहेक केही प्राप्त गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैङ्क खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटबाट वृद्धभत्ता वृद्धि गर्ने घोषणा गरे । यसले वृद्धवृद्धामा आशाको सञ्चार जगाएको छ ।
 
तर, पूरा हुने/नहुनेमा उनीहरू सशङ्कित छन् । अभियानकै क्रममा सरकारले वृद्धभत्ता बढाउने घोषणा गरेको छ । नेकपाको चुनावी घोषणा–पत्रमा मासिक ५ हजार रुपैयाँसम्म वृद्धभत्ता बढाउने प्रतिबद्धता गरेको थियो । वृद्धवृद्धाको लागि सरकारले नयाँ–नयाँ कार्यक्रमहरू ल्याइरहेको छ । जसअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम पनि एक हो । नयाँ वर्ष प्रवेशकै अवसरमा गरिएको यो कार्यक्रमले ज्येष्ठ नागरिकलाई राहत मिलेको छ । जसमा सरकारले नै उनीहरूको प्रिमियम तिरिदिने भएको छ । 
यसलाई समृद्धिसँग जोडेर हेर्न थालिएको छ ।
 
ज्येष्ठ नागरिक बिमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैङ्क खाता’ नाराका साथ यो अभियान थालिएको छ । त्यसो त, सरकारले सामाजिक सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बिमा बोर्ड, नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कर्स एशोसिएशनले अभियान शुरु गरेको हो । जसमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा घोषणा गरिएको हो । सो बिमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ । यसक्रममा प्रधानमन्त्री ओलीले नयाँ युगको शुरुवात भएको दाबी गरे । उनले अब नेपालमा बैङ्क खाता नहुने र खातामा रकम नहुने नागरिक हुनै छैन भन्दै थैलीका दिन गएको बताए । 
 
प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका माता धनमाया शाक्यलाई बैङ्क खाता खोलिएको प्रमाण–पत्र र निःशुल्क स्वास्थ्य बिमाको कार्ड वितरण गरेका थिए । सबै नेपालीलाई सरल रूपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैङ्कले बैङ्क खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ । 
 
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्कले सबै नेपालीलाई बैङ्क खाता खोल्नका लागि सहजीकरण गर्नेछ । सो अभियानमा बैङ्क खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करिब दुई करोड ९० लाख छ । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल बैङ्क तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् ।