धरान । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरकाे विमान मनाङ एयर र श्री एयरकाे हेलिकोप्टरमा ठोक्किदा कोपाइलटसहित मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । 

समीट एयर ‘टेकअप’ गर्ने क्रममा चिप्लिएर रनवे बाहिर जाँदा हेलिप्याडमा रहेका मनाङ एयर र श्री एयरको हेलीकोप्टरमाथि ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता इन्स्पेक्टर देउप्रसाद लिम्बूले जानकारी दिए । त्यसक्रममा मनाङको हेली पूर्णरूपमा क्षति पुगेको छ भने श्री एयरको हेलीमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

समीट एयरको कोपाइलट सुजित ढुङ्गाना र ड्युटीमा खटिएका असइ रामबहादुर खड्काको घटनास्थलमै निधन भएको छ । ड्युटीमा खटिएका अर्का प्रहरी रुद्रबहादुर श्रेष्ठकाे उपचारकाे लागि काठमाडाैं पुर्याइएपछि मृत्यु भएकाे प्रहरी केन्द्रीय कार्यालयले पुष्टि गरेकाे छ । त्यस्तै समीटका पाइलट रविनाथ रोकाया र हेलीका क्याप्टेन जीतबहादुर गुरुङ गम्भीर घाइते बनेका छन् ।

उनीहरूलाई थप उपचारका लागि हेलीमार्फत् नै काठमाडौंको टिचिङ हस्पिटलमा पठाइएको प्रवक्ता लिम्बूले फोनमार्फत् जानकारी दिए । लुक्ला विमानस्थल सगरमाथाको प्रवेशद्वारको रूपमा लिइन्छ । यतिबेला सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले पनि लुक्ला विमानस्थलमा चाप बढेको छ ।

समीटकाे एयर राेकिएकाे मनाङ एयरकाे हेलीमा ठाेक्किदा दुइकाे मृत्यु, ३ घाइते