धरान/ धरानको दुईतारे होटल ‘होटल गजुर प्यालेस’ ले नयाँ वर्षको अवसरमा ‘टुबोर्ग गजुर म्युजिकल रिदम नाइट्स’ गर्ने भएको छ ।

नाइट्समा प्रमुख आकर्षणका रूपमा दार्जिलिङको ‘फ्रोजन ब्याण्ड’ ले प्रत्यक्ष प्रस्तुति दिँदै छ । त्यस्तै नेपालका बेली नृत्याङ्गना विना शाक्य, भ्वाइस अफ नेपालका टप ८ मा पर्न सफल विद्या तिवारी, र डिजे डक्सको डिजे सेसन रहने सोमबारको पत्रकार सम्मेलनमा जनाइयो ।

कार्यक्रम संयोजक निश्चल पलिखेका अनुसार नेपाली नयाँ वर्ष मनाउने प्रचलनलाई प्रवद्र्धन गर्न कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमबाट सङ्कलित रकममध्ये १० हजार रुपैयाँ तत्कालै गरिब तथा असहायलाई सहयोग गरिनेछ । नाइट्समा प्रवेश शुल्क एक हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

हालै सञ्चालनमा आएको होटल गजुर तीन तारेमा वर्गीकृत २ तारे होटल रहेको सञ्चालक गोपालप्रसाद आचार्यले बताए । उनका अनुसार होटल प्रचारका लागि पनि कार्यक्रम राखिएको हो । कार्यक्रममा २ सय ५० जनालाई मात्रै प्रवेश गराइनेछ । यो कार्यक्रम प्रदेश १ कै ठूलो ‘इन्डोर’ साङ्गीतिक कार्यक्रम भएको सञ्चालक आचार्यको दाबी छ ।