वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाममा हुन लागेको दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेलाको औपचारिक शुरुवात भएको छ ।
नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सप्तकोशीमा विधिवत् पूजाअर्चनासहित स्नान गरी जल उघाएर अर्धकुम्भको शुरुवात गरे । उनीसहितको समूहले सप्तकोशीबाट ठूला ४ वटा पित्तलका घडामा जल लिएर धरानस्थित पिण्डेश्वर मन्दिर पुगी पूजा गरेपछि एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा कुम्भ मेला संयोजक हिक्मत कार्कीले संयुक्त रिबन काटी कलश यात्राको शुरुवात गरेका थिए ।
यसअघि कलशयात्रामा मुख्यमन्त्री शेरधन राई उपस्थित हुने भनिए पनि उनी उपस्थित भएनन् । शुक्रबार दिउँसो नेपाल प्रहरीको ब्याण्ड बाजासहितको टोलीले धरानबाट शुरु गरेको कलशयात्रा इटहरी, विराटचोक, विराटनगर, झोराहाट, नेताचोक, दुहबी, इनरुवा, प्रकाशपुर, मधुवन हुँदै चक्रघट्टी भएर चतराधाम पुगेको थियो ।
वैशाख २४ गतेसम्म सञ्चालन हुने कुम्भमा जम्मा चारवटा स्नान कार्यक्रम हुने बताइएको छ । कुम्भमा देश विदेशका करोडभन्दा बढी भक्तजन आउने आयोजकले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अर्धकुम्भमेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।
































