धनकुटाबाट बसाइ सरी जाने क्रम तीव्र रूपमा दैनिक बढ्ने क्रमसँगै धनकुटा बजारको चहल–पहलमा कमी आउन थालेपछि धनकुटामा व्यापार–व्यवसाय बन्द हुने क्रमसमेत शुरु भएको छ ।
राज्यको ध्यान पहाडतर्फभन्दा तराईतर्फ नै भएकोले लगानी पहाडमा भन्दा तराईमा नै राज्यले अत्यधिक गर्न थालेको पाइन्छ । पहाडी जिल्ला धनकुटामा विगतमा भएका राज्यका निकायहरू र कार्यालयहरू पनि धनकुटाबाट तराईतर्फ सार्न थालिएको र सुविधाहरू पनि तराईमा नै केन्द्रित गर्न थालिएकोले यतिबेला सबै धनकुटाबासीहरू धनकुटालाई जीवन्त राख्ने त्यस्तो योजना अर्थात् बुटीको खोजीमा रहेका छन् । धनकुटा सुक्दै क्रमशः शून्यता छाउँदै मर्दैै गएको कठिन घडीमा धनकुटालाई जीवन्त बनाउन सक्ने अजम्वरी तथा सञ्जीवनी बुटीको खोजीमा अहिले छट्पटिएका छौं ।
प्रादेशिक राजधानी, मेडिकल कजेललगायत धनकुटाको जनशक्ति त्यसमा पनि तन्नेरी युवा युवतीहरूको शक्ति, जलस्रोत, पर्यटन र साना उद्योग, व्यापार र कृषि नै हो । सुक्दै गएको धनकुटा अर्थात् मर्न लागेको धनकुटालाई जीवन प्रदान गर्ने अजम्बरी तथा सञ्जीवनी बुटी खोज्नु पर्ने बेला आएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म धनकुटा प्रशासनिक केन्द्र, गौंडा, विकास क्षेत्रको सदरमुकाम रहँदै पूर्वकै केन्द्रको रूपमा स्थापित हुँदै आएको धनकुटालाई अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने क्रममा समेत १ नम्बर प्रदेशको स्थायी राजधानी बनाउन सक्नुपर्छ । यो नै हो, धनकुटालाई जीवन्त राख्ने सञ्जीवनी बुटी । यो बुटी नेपालका प्रमुख राजनैतिक दल र १ नम्बर प्रदेशका ९३ जना प्रदेशसभाका सांसद्हरूसँग छ ।
अभिभावकहरूको अनुभव, सल्लाह र आशिर्वाद र अहिलेका तन्नेरी युवायुवतीहरूको मेहनत, पसिना र रगतबाट धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउन अझ धेरै मेहनतका साथ राजनैतिक दलका नेताहरू, १ नम्बर प्रदेशका सबै ९३ जना सांसद्हरूसँग आधारसहित छलफल गर्नुपर्छ । यसका साथै १ नम्बर प्रदेशका १४ जिल्लाका जनसमुदायहरूसँग समेत जनमत सिर्जना गर्नुपर्छ । नत्र पुर्खाहरूले अहिलेसम्म कायम राख्दै आएको धनकुटाको इतिहास र पहिचान अहिलेको तन्नेरी युवापुस्ताले जोगाउन सकेनन् भने पुर्खाहरूले सराप्ने र भावी पुस्ताले समेत सराप्नेछन् ।
धनकुटा १ नम्बर प्रदेशको १४ जिल्लाको बीच भागमा तराई र हिमालको मध्यभागमा पहाडी भूभागमा रहेकोले भौगोलिक हिसाबले पनि १ नम्बर प्रदेशको लागि राजधानी बन्न उचित छ । धनकुटा जिल्ला राणा शासनकालदेखि नै गौंडा, प्रशासनिक केन्द्र र सदरमुकाम हुँदै अहिलेसम्म रहेकाले यहाँ ४ सयवटा पक्की भूकम्प प्रतिरोधक भव्य भवनहरू रहेका छन् भने ४७ हजार रोपनीभन्दा बढी सरकारी जग्गा पनि धनकुटा बजारमा नै रहेकाले भौतिक पूर्वाधारले पनि धनकुटा ज्यादै उपयोगी छ । ती भव्य सरकारी भवनहरूमा प्रदेश मन्त्रालयहरू, प्रदेशस्तरका सम्पूर्ण कार्यालयहरू तत्काल राख्न सकिन्छ । नुपग भए प्रशस्त मात्रामा रहेका ती सरकारी जग्गामा भवनहरू बनाउन पनि सकिन्छ । जसले गर्दा सरकारको अरबौं रुपैयाँ जोगिन्छ ।
अन्तर्राष्ट्रिय सिमाना अन्तर्गत भारत र चीनको सिमानाभन्दा टाढा हुनुका साथै धनकुटालाई अरुण र तमोर नदीलेसमेत घेरेर राखेकोले पनि धनकुटा सुरक्षाको हिसाबले पनि राजधानी बन्न ज्यादैनै उचित छ । यसैगरी तेह्रथुमबाट शुरु भएको मध्यपहाडी राजमार्ग धनकुटा हुँदै गएकाले तेह्रथुमका साथै भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभाबाट तराई नझरी पहाडै पहाड धनकुटा सिधै आउन–जान सकिन्छ । तमोर करिडोरबाट ताप्लेजुङ्, पाँचथर र इलामबाट पनि तराई नझरी सिधै धनकुटा आउन–जान सहज छ । त्यस्तै झापा, सुनसरी र मोरङबाट आउन पनि सिधै पक्की राजमार्ग छ । यसले गर्दा १ नम्बर प्रदेशको राजधानी बन्न यातायातको दृष्टिकोणबाट पनि अति नै महŒवपूर्ण र उचित छ । हवाई मार्गका लागि धनकुटा नगरपालिकाको वडा नं. ९ स्थित बेलहारा डाँडामा एयरपोर्टको डिपिआर सम्पन्न भई निर्माण कार्य शुरु हुनका लागि अन्तिम चरणमा पुगेको छ ।
धनकुटामा त्यति धेरै गर्मी पनि हँँुदैन र त्यति धेरै जाडो पनि नुहुने हुँदा हिमाल र तराईका मानिसहरू बस्न कुनै कठिनाइ बिना नै सहज रूपमा यहाँको हावापानीसँग समायोजन हुनसक्ने भएकाले हावापानीको हिसाबले पनि अन्यत्रभन्दा धनकुटा राजधानीका लागि अति नै उपयोगी छ । यसैले गर्दा १ नम्बर प्रदेशको १४ वटा जिल्लाहरूभन्दा धनकुटा जिल्ला इतिहास भूगोल, भौतिक पूर्वाधार, सुरक्षा, यातायत, हावापानीलगायत सबै किमिसले राजधानी बन्न ज्यादैनै उपयुक्त रहेको छ । यति धेरै सम्भावना हुँदा हुँदै पनि धनकुटालाई राजनैतिक पहुँच र शक्ति नभएकै कारणले प्रदेशको अस्थायी राजधानी राख्ने सवालमा पनि अन्याय गरिएको थियो ।
अहिले पनि १ नम्बर प्रदेशको स्थायी राजधानी धनकुटालाई बनाउनुपर्नेमा धनकुटाको पहँुच नभएकै कारण ओझेलमा पार्न गम्भीर षड्यन्त्र हुन थालेकाले अब धनकुटेलीहरू पुर्खाले स्थापित गरेको धनकुटा अहिलेसम्म जोगाउँदै आइरहेको धनकुटाको पहिचान र इतिहासलाई कायम गर्न अन्तिमसम्म सक्रियतापूर्वक जुनसुकै किसिमले भए पनि लड्नु आजको पहिलो आवश्यकता भएको छ । धनकुटासँगै प्रदेश नम्बर १ को राजधानीको लागि चर्चामा आएको विराटनगर, इटहरी र धरानमा राजधानी भएन भने ती शहरहरूको विकास, समृद्धि र चहल–पहल तथा शहरीकरणमा खासै असर पर्दैन । तर धनकुटा राजधानी भएन भने धनकुटालाई ठूलो असर पर्छ । त्यसको समग्ररूपमा पूरै असर पूर्वी पहाडलाई नै पर्छ । त्यसैले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी सबैको सहयोगमा बनाउन सकियो भने धनकुटाले हिमाल, पहाड र तराईलाई जोड्छ र न्याय पनि दिन्छ अनि सबैको चाहना, आवश्यमता पनि पूरा हुन्छ । साथै ९३ जना १ नम्बर प्रदेशका प्रदेश सांसद्हरूले पनि न्याय गरेको ठहर्छ ।
धनकुटासँगै धनकुटालाई बचाउने आर्थिकसहितको साधन, स्रोत जस्तैः जलस्रोत, जमिन, जडिबुटीसहितको जङ्गल, पर्यटकीयस्थलहरू प्रशस्त मात्रामा रहेको र उद्योग–व्यवसाय सञ्चालन गर्नका लागि उचित हावापानी र वातावरण भए तापनि आजसम्म कुनै पनि क्षेत्रमा निजी लगानीबाट वा सरकारी स्तरबाट उद्योगधन्दा तथा शैक्षिक प्रतिष्ठानहरू सञ्चालन नभएको र पर्यटन प्रवद्र्धनसमेत नभएका कारण सरकारले अस्थायी राजधानी नराख्ने निर्णयले सङ्कटग्रस्त भई सूर्य अस्ताएको जस्तो अहिले धनकुटा भएको छ ।
धनकुटाका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय स्थलहरूको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरी दैनिक हजारौं पर्यटकहरू धनकुटा भिœयाउन शुरु भएपछि धनकुटाको हराउँदै गएको चहल–पहलमा वृद्धि गर्न सकिने भएकोले धनकुटाको विकास र समृद्धि पर्यटन, उद्योगबाट पनि गर्न सकिन्छ । समयको महŒवका लागि धनकुटाको धनकुटा बजार र हिले बजारमा अनि अन्य बाँकी ६ वटै तहमा अग्ला र ठूला ठूला एक–एक वटा घण्टाघर निर्माण गर्ने त्यसको साथै पर्यटकहरूको स्वागतका लागि सातवटै तहमा आकर्षक र स्थायीरूपमा स्वागतद्वार बनाउनु पर्छ । र क्रमशः धनकुटाका ६० वटै वडाहरूले स्वागतद्वार र एक–एकवटा घण्टाघर निर्माण गर्नुपर्छ । स्वदेश तथा विदेशमा नै चर्चित रहेको पर्यटकीयस्थल भेडेटारमा दैनिक हजारौं पर्यटक भिœयाउने विशेष योजना निर्माण गर्नुपर्छ ।
पर्यटकीय स्थल भेडेटारमा आउने पर्यटकहरूलाई संसारकै आकर्षक नमस्ते झरना र प्रसिद्ध विश्रान्ती मन्दिर मूलघाटमा घुम्न आउने वातावरण बनाउनु पर्छ । त्यसका लागि विश्रान्ती मन्दिरअगाडिको तमोर नदीको बीचमा विश्वकै अग्लो र ठूलो शिवजीको मूर्ति बनाउने र पुल निर्माण गरेर भगवान शिवको पूजा तथा आराधना गर्ने व्यवस्था मिलाउनु पर्छ । मूलघाटसम्म आउने पर्यटकहरूलाई सहजता लागि मूलघाटबाट धनकुटा बजारनजिक रहेको पर्यटकीयस्थल चुलीवन डाँडासम्म केवुलकार निर्माण गर्ने र चुलीवनमा रहेको मन्दिरको पुनःनिर्माण गरी प्रचार–प्रसार गर्नुपर्छ ।
केवुलकारबाट चुलीवन मन्दिर दर्शन गर्न आउने पर्यटकहरूलाई धनकुटा बजारसम्म आउने वातावरण तयार गरी नेपालकै नमूनाको रूपमा रहेको प्रदेशस्तरीय प्रदेश सङ्ग्रहालय, आठपहरिया जातिको मार्ग, ठूलो घर र नमूनाको डम्पिङ साइडसम्म अवलोकन गराउनु पर्छ । धनकुटाबजारसम्म आएका पर्यटकहरूलाई धनकुटाको सुन्दर हिलेबजारसम्म ल्याउन हिले डाँडामा संसारकै ठूलो बुद्धको मूर्ति बनाई बौद्ध धर्मावलम्बीहरूलाई धनकुटा आउने वातावरण बनाउनु पर्छ । जसले गर्दा संसारभरिबाट धनकुटामा लाखौंको सङ्ख्यामा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू धनकुटा आउने वातावरण तयार हुनेछ ।
हिले बजारमा आएका पर्यटकहरूलाई पाख्रीबास, सिँधुवा, जितपुर बजारसम्म जाने वातावरण बनाउनु पर्छ । यसैगरी हिलेसम्म आएका पर्यटकहरूलाई पर्यटकीयस्थल उत्तरपानी, आँखीसल्ला खोकु हुँदै प्रसिद्ध छिन्ताङ देवीको दर्शन गर्न जाने वातावरण बनाउनु पर्छ । उता भेडेटार आएका पर्यटकहरूलाई नाम्जे, ओख्रे हँुदै चर्चित पर्यटकीयस्थल राजारानीसम्म पु¥याउने वातावरण बनाउनु पर्छ । भेडेटारबाटै पर्यटकीयस्थल ऐतिहासिक साँगुरीगढी, आहाले हुँदै प्रसिद्ध धार्मिकस्थल वराहक्षेत्रसम्म पु¥याउने वातावरण तयार गर्नु पर्छ । साथै धनकुटाका सबै पर्यटकीयस्थलहरूसम्म पक्की मोटरबाटो निर्माण गरी पर्यटकहरूलाई आउन–जान सजिलो बनाउनु पर्छ ।
यसैगरी धनकुटालाई कृषिको क्षेत्रबाट पनि विकास गरी धनकुटाको पहिचान कायम गर्न सकिन्छ । अहिले पनि धनकुटाबाट करोडौंको ताजा हरियो तरकारी र करोडौंको सुन्तला, चिया, अदुवालगायतका नगेदीबाली उत्पादन हुने गरेको छ । यसलाई अझ वृद्धि गर्न मेघा प्रोजेक्ट सञ्चालन गरी अरुण तथा तमोर नदीबाट लिफ्टिङ गरी खानेपानीको समस्या समाधानसँगै सिंचाइको समेत प्रबन्ध गर्नु पर्छ ।
अरुण नदीबाट लिफ्टिङ गरेर त्रिशूले या सिँधुवामा ठूला–ठूला ट्याङ्की निर्माण गरी धनकुटाको महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका, पाख्रीबास नगरपालिका शहीदभूमि गाउँपालिका र धनकुटा नगरपालिकामासमेत खानेपानी र सिंचाइको व्यवस्था गर्नु पर्छ । साथै तमोर नदीबाट लिफ्टिङ गरी डाँडाबजारमा ठूल्ठूला ट्याङ्की निर्माण गरेर साँगुरीगढी र चौबीसे गाउँपालिकामा खानोपानी र सिंचाइको उचित व्यवस्था मिलाउनु पर्छ । त्यसैगरी धनकुटाका कृषि उत्पादनलाई वृद्धि गरी धनकुटाको विकास र समृद्धि गर्न सकिने भएकाले यो मेघा प्रोजेक्ट सञ्चालन गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान यसतर्फ आकृष्ट गर्न धनकुटाबासीहरूले दबाव दिनु पर्छ । धनकुटाको कुल जनसङ्ख्याको ६७ प्रतिशत तन्नेरी युवाहरू भएकोले युवाहरूको मेहनत र पसिना अनि रगतलाई धनकुटाका लागि सही तरिकाले प्रयोग गर्दै धनकुटालाई उन्नत बनाउन सकिन्छ । अहिले धनकुटालाई तन्नेरीहरूको धनकुटा पनि भनिन्छ । त्यसैले धनकुटाको लागि यो स्वर्णिम समय पनि हो ।
तर धनकुटामा केन्द्रीयस्तरका शक्तिशाली नेता नभएका कारण धनकुटा राजनैतिक पहुँच र शक्ति नभएका कारण नै यति धेरै सम्भावना भएको धनकुटा यतिखेर पूरै बेहुली अन्माएर लगेको घरजस्तै भएको छ । स्थानीय बासिन्दाहरू सबै क्षेत्रमा सरकारको परनिर्भरतामा पर्नु, निजी लगानी तथा पहलमा आफ्नो जन्म तथा कर्मथलो धनकुटामा धनसम्पत्ति भए तापनि कुनै किसिमका ठूला उद्योग, व्यापार सञ्चालन नगर्नु नै हो । यहाँ निजी क्षेत्र वा सरकारी क्षेत्रबाटै ठूल्ठूला उद्योग व्यापार, शैक्षिक तथा स्वास्थ्य संस्था (मेडिकल कजेलहरू) ठूलो अस्पताल स्थापना गरी सञ्चालन गरेको भए धनकुटामा राजनैतिक परिर्वतनसँगै गरिने निर्णयबाट हुन आउने सङ्कटबाट छिमेकी शहरहरू धरान, इटहरी, इलाम, गाईघाटमा जस्तै धनकुटामा चहल–पहलमा खासै फरक पर्ने थिएन । जहिले पनि जस्तोसुकै परिस्थितिमा पनि गरिने राजनैतिक निर्णयहरूका बीच पनि धनकुटाले पहिलेको जस्तै चहल–पहललाई कायमै राख्न सक्थ्यो ।
धनकुटाको विकास र समृद्धि पर्यटन, कृषि, उद्योग, व्यापार, स्वास्थ्य र शिक्षा नै भएकाले प्रकृतिले उपहार स्वरूप दिएको जल, जमिन, जडिबुटीसहितको जङ्गल, हिमाल अनि अनुकूल हावापानी तथा वातावरणको उचित ढङ्गले अत्यधिक प्रयोग गरी उद्योग, व्यापार, पर्यटनको प्रवद्र्धन गरी मेडिकल कजेललगायतका उच्चस्तरीय ठूला–ठूला स्कुल तथा कलेजहरू सञ्चालन गर्न स्थानीयस्तरदेखि स्वदेशी तथा विदेशीहरूलाई समेत लगानी गर्ने वातावरण धनकुटाबासी हामीबाटै शुरु गर्न जरुरी छ । अनि सरकारलाई पनि त्यस्ता योजनाहरूमा लगानी गर्न दबाव धनकुटावासीले दिनुपर्छ । अनि मात्र धनकुटा यो सङ्कटबाट मुक्त हुन सक्नेछ ।
खस्किँदै गएको, सुक्दै गएको धनकुटा, चहल–पहल हराउँदै गएको धनकुटा, मृतशहर बन्दै गएको धनकुटालाई जीवन्तता दिनका लागि धनकुटामा १ नम्बर प्रदेशको राजधानी बनाउन प्रमुख राजनैतिक दलहरूका प्रमुख नेता र प्रदेश नम्बर १ का ९३ जना प्रदेश सांसद्हरूको हातमा र धनकुटामा मेडिकल कलेजको स्थापना र पर्यटन, कृषि, उद्योग–व्यापार र जलु्रोत र तन्नेरी जनशक्तिको उपयोग गर्ने सङ्घीय सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारसँग धनकुटाको लागि अजम्बरी तथा सञ्जीवनी बुटी भएकोले अब धनकुटालाई बचाउने या मार्ने उनीहरूको हातमा छ । मर्ने र बाँच्ने अवस्थामा भएको धनकुटालाई यतिबेला जसले अजम्बरी तथा सञ्जीवनी बुटी दिएर वा खुवाएर बचाउँछ, उसको धनकुटेली जनताले उचित मूल्याङ्कन गरी सधैँ सम्झिरहनेछन् र उनीहरूको महŒवपूर्ण योगदान धनकुटाको इतिहासमा समेत सुनौलो अक्षरले देखिनेछ ।
(लेखकः नेपाली कांग्रेस धनकुटाका सचिव हुन् ।)