सुनसरी / चार वर्ष अघि इलाका प्रहरी कार्यालय इटहरीको लागि जग्गा खरिद बापत आएको ३ करोड ४८ लाख रुपैयाँ निकासा भएको थियो । तर, जग्गा खोजी गर्न नसक्दा सो रकम मन्त्रालयमै फिर्ता भयो । झण्डै साडे तीन करोड रुपैयाँबाट प्रहरी कार्यालयको लागि साविक हाँसपोसा ८ को १७ कठ्ठा जग्गाको प्रस्ताव प्रहरीले गरेको थियो ।
सो विषयमा सहमति जुट्न नसक्दा जग्गा खरिदको लागि आएको रकम फिर्ता भयो । त्यस वेला इटहरीका राजनीतिक दल, उद्योग वाणिज्य संघ र नागरिक समाजका प्रतिनिधीले इलाका प्रहरी कार्यालयको लागि इटहरीबाट दक्षिण खनार छेउको राजमार्गसँग जोडएको जग्गा उपयुक्त हुने सुझाव दिएका थिए ।
तत्कालिन कोशी अञ्चल प्रहरी प्रमखुको संयोजकत्वमा पाँच सदस्यीय जग्गा सिफारिस समिति समेत बनाइएको भए पनि रकम फिर्ता गएसँगै समिति निस्कृय भएको थियो ।

गृह मन्त्रीले निरिक्षण गरे, जग्गा जुटाएनन्
तत्कालिन गृहमन्त्री शक्तीबहादुर बस्नेतले इटहरीमा इलाका प्रहरी कार्यालयको लागि माग गरिएको जुट अनुसन्धानको जग्गा उपलब्ध गराउने आश्सासन दिएका थिए । जुट अनुसन्धानको जग्गा अवलोकन गरी मन्त्री बस्नेतले यसको प्रकृया अगाडी बढाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए । त्यसै बेला यहाँका राजनीतिक दल, उद्योगी व्यापारीहरुले प्राप्तीको लगि प्रधानमन्त्री र प्रमुख पार्टीका प्रमुख व्यक्तीहरुसँग कुरा भइसकेकोले प्रकृया पु¥याएर जग्गा उपलब्ध गराउने वातावरण मिलाउन आग्रह गरेका थिए ।

सागुरो भवनबाट सेवा प्रदान
जग्गा अभावका कारण इटहरीमा प्रहरी कार्यालय भवन अझै बन्न सकेको छैन । पाँच वर्ष अघिदेखि प्रहरी कर्यालयको लागि जग्गा खोजी गरिदै आए पछि भेटिएको छैन् ।
यातायात सुविधा र पूर्वकै केन्द्रविन्दुको रुपमा विकसित हुँदै गएको इटहरी प्रहरी कार्यालयको समस्या समाधान हुन सकेको छैन । हाल इलाका प्रहरी कार्यालय भएको स्थानमा प्रहरीको नाममा ९ धुर र भोगचलान भएको बाँकी झण्डै दुई कठ्ठा जग्गामा बनेको पूर्वाधारले धान्दै आएको छ ।
तत्काल जग्गा खरिद गर्ने बजेट नभए पनि सुरक्षाको दृष्टीकोण र जनसंख्याको चापका कारण भवन बनाउन जरुरी रहेको प्रदेश नम्वर १ का डिआइजी केदार रिजाल बताउछन् । राज्यले प्रहरी संरचनाको लागि पूर्वाधारमा रकम खर्च नगरेको भने होइन । प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा १४ वटा जिल्लामा ५२ वटा भवन बन्ने क्रममा रहेका छन् । संघीय सरकारको योजनामा पनि ३५÷३६ वटा योजना रहे पनि इटहरीमा जग्गा उपलब्ध गराउन नसक्दा इलाका प्रहरी कार्यालय इटहरीको भवन बनाउन नसकिएको डिआइजी केदार रिजालले बताए ।
‘जग्गा अभावकै कारण इटहरीमा भौतिक संरचना बनाउन सकिएको छैन’ डिआइजी रिजालले ब्लाष्ट खवरसँग भने ‘जनसंख्याको चाप बढेको इटहरीमा प्रहरी कार्यालयको जग्गाको लागि गरिएका पहल पनि प्रकृयामै छन् ।’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीले आवासका रुपमा प्रयोग गर्दै आएको इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनको कोठा पनि उपमहानगरपालिकाको प्रशासनिक काममा ल्याइएको छ । उपमहानर नगरपालिकाकै सहकार्यमा थुनुवा राख्ने भवनको माथिल्लो तलामा प्रहरीलाई सुत्ने व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक बुद्धी चौलागाईले बताए ।
प्रदेश नम्वर १ को राजधानी दावी गरिदै आएको इटहरीमा प्रहरी कार्यालयका लागि कम्तिमा एक विगाहा जमिन आवश्यक पर्ने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी–८ को जुट अनुसन्धान कार्यक्रमको जग्गा माग गरिएको फाइल जिल्ला सुरक्षा समिति हुँदै फायल गृह मन्त्रालयमा थन्किएको
छ । कृषी मन्त्रालयबाट गृह मन्त्रालयमा जग्गा ल्याउन मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने बताइएको छ ।
यता, जुट अनुसन्धानको जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय पनि बसेकोले प्रहरीलाई पनि सोही प्रकृयाबाट जग्गा दिलाउनु पर्ने इटहरीका राजनीतिक दल र नागरिक समाज, उद्योग वाणिज्य संघलगायतले माग गरेका गर्दै आएका छन् । इटहरी मात्रै पछिल्लो समयमा ३५÷४० हजार घर बनेका छन् । फराकिलो बनेको इटहरीमा साँघुरो भवनबाट सम्भव नहुने भन्दै स्थानीय तहको निर्वाचन अघिदेखिनै यहाँका राजनीतिक दलले जग्गा खोजी गर्दै आएका थिए । अहिलेको इलाका प्रहरी कार्यालय भएको स्थानमा वडा प्रहरी कार्यालय स्थापना गरी इलाकाको लागि छुट्टै भवन र जनशक्ती व्यवस्था गर्ने योजना रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक बुद्धी चौलागाईका अनुसार इटहरीमा १ सय ६२ जना प्रहरीको दरवन्दी छ । इलाका प्रहरी कार्यालय इटहरीको माताहतमा १७ वटा प्रहरी चौकी र सामुदायिक प्रहरी कार्यालय रहेका इटहरी प्रहरीले जनाएको छ । सिआरभी सहित पाँच वटा गाडी प्रहरीले प्रयोग गर्दै आएको छ । प्रहरी जनशक्ती, गाडी र भवननै थप गर्नु पर्ने प्रहरी निरिक्षक चौलागाईले बताए ।