विराटनगर । विराटनगरमा रेल्वे परियोजनाको नाला सामान्य हावा पानी आउँदा भत्किएको छ ।
भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।
शनिबार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताए । उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो ।
नाला रेलको लिकको बीचबाट पानी तथा ढल निकासाका लागि बनाइएको हो । नेपाल कस्र्टम यार्डमा निर्माण भएको पर्खालमा पनि असिना पानीले असर गरेको छ । नेपालतर्फ आउने रेल्वे परियोजनाका लागि भारत सरकारले ४ अर्ब ४८ करोड बजेट खर्च गरेको छ । रेलमार्ग निर्माणका लागि इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्जले ठेक्का पाएको थियो । सो कम्पनीले सन् २०१८ सम्ममा रेलमार्गको निर्माण पूरा गरिसक्नुपर्ने समय सीमा भए पनि मुआब्जा विवादले गर्दा निर्माणको मिति लम्बिएको छ ।
































