पथरी/ मोरङको पथरी शनिश्चरे नगरमा रहेको सिरिजङ्गा स्मृति धार्मिक वनमा विधान विपरीत समिति घोषणा गरेको भन्दै सव–डिभिजन वन कार्यालय पथरी र नगरको न्यायिक समितिमा उजुरी परेको छ ।
समिति वनको विधान विपरीत मनोमानी ढङ्गबाट केही व्यक्तिले बनाएको भन्दै तत्काल खारेज गरेर नियमसम्मत निर्वाचन गराउन माग गरिएको छ ।
यसरी उजुरी दिनेमा उपाध्यक्षमा मनोनयन दर्ता गर्ने टेकिन्द्र लिम्बूलगायतका छन् । सिरिजङ्गा वनको माघ २१ गते साधारणसभा भएको थियो । बन्द सत्रमा ६ जना उपाध्यक्षको मनोनयन दर्ता भएपछि २५ गते निर्वाचन गर्ने तयारी भएको थियो । २५ गते निर्वाचन नभएपछि पटक–पटक मिलाउने प्रयास भएको थियो ।
उपाध्यक्षको मनोनयन फिर्ता नगरी निर्वाचन आयोगले समिति घोषणा गरेपछि टेकिन्द्र लिम्बू लगायतले कानूनी उपचारको लागि सोमबार पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समिति र सव–डिभिजन वन कार्यालयमा उजुरी दर्ता गरेको हो । टेकिन्द्र लिम्बूले सम्पूर्ण पदमा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । टेकिन्द्रले कानूनी उपचारको लागि अदालतमा समेत जाहेरी दर्ता गर्ने बताएका छन् ।
समितिको विधानमा १ उपाध्यक्षको व्यवस्था भए पनि गोविन्द वनेम, टङ्क लिम्बू र सन्तोष सेरेङ लिम्बूको नाम घोषणा भएको छ । घोषित सात मुख्य पदमा कोषाध्यक्षमा खिनामाया लिम्बू मात्र रहेको छ । वनको विधानको परिच्छेद ५.२ (ग)मा ३३ प्रतिशत महिला हुनुपर्ने उल्लेख छ । सातमा एकजना भनेको १४ प्रतिशत मात्र हुन आउँछ । घोषित २१ सदस्यमध्ये पाँचजना मात्र महिला रहेका छन् । विधानअनुसार महिलाको सङ्ख्या पुगेको देखिँदैन । कानूनी उपचारमा लागेका टेकिन्द्र लिम्बूले पुनः निर्वाचन भए समितिमा बसेका मुख्य व्यक्तिहरू पराजय हुने डरले मनोमानी ढङ्गबाट जबरजस्ती घोषणा गरेको दाबी गर्छन् ।
विधानको परिच्छेद ५.२ (ङ)मा सर्वसम्मति नभए निर्वाचन गर्नुपर्ने व्यवस्था छ । परिच्छेद–४ को ४.२ मा आकस्मिक साधारणसभा बारे साधारण सदस्यमध्ये २५ प्रतिशतले लिखित उजुरी दिएमा समितिले १५ दिनभित्र साधारणसभा बोलाउनु पर्ने उल्लेख छ ।
सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख मोहम्मद अलाउद्दिनले भने समिति चयन भएको सूचना कार्यालयमा नआएको बताए । उनले साधारणसभा भएको लामो समयसम्म जानकारी पत्र नआएपछि पूर्ण विवरण पठाउन निर्देशन गरेको बताए । अलाउद्दिनले साधारणसभामा विवाद भएकोसम्म जानकारी आएको बताए ।
सिरिजङ्गा धार्मिक वन लिम्बू समुदायले धार्मिक सांस्कृतिक कार्यक्रम गर्र्दै आएको स्थल हो । मुख्य सडकको दक्षिणमा रहेको वनको क्षेत्र २२ बिघा रहेको छ । घोषित समितिका अध्यक्ष गङ्गा साँवा लिम्बूले भने उपाध्यक्षमा मात्र विवाद रहेको र कार्यसमितिमा विवाद नरहेको प्रतिक्रिया दिए । टेकिन्द्र लिम्बूले भने पुनः निर्वाचन नगरिए आम उपभोक्ताको सहमतिमा नयाँ समिति गठन गरेर वन संरक्षण थाल्ने चेतावनी दिँदै आएका छन् ।
































