दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सा जिल्लामा आइतबार रातिको हावाहुरीबाट भएको विपद्को अवस्थामा सम्पूर्ण नेपाली एकजुट भएर उद्धारमा लाग्न आह्वान गरेका छन् ।

झापाको दमकमा सोमबार बिहान आयोजना गरिएको नेकपाको दमक नगरकमिटी र १० वटा वडाको वडाकमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् । सम्बोधनको क्रममा नै निक्कै भावुक बनेका प्रधानमन्त्री ओलीले राति नै नेपाल सरकार मातहतका सबै निकाय सेना, प्रहरी र कर्मचारीलाई उद्धारमा परिचालन गर्न निर्देशन दिएको बताए । ‘मैले गृहमन्त्रालय, गृहसचिवलाई समेत फोन गरिसकेको छु’–प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै स्वास्थ्य मन्त्रालयलाई औषधिसहित त्यस क्षेत्रमा पुग्न भनेको बताउँदै यस्तो दुःखद् अवस्थामा देशका सबै निजी सङ्घ–सस्थालाई समेत यसको व्यवस्थापनमा लाग्न भनिसकेको प्रधानमन्त्री ओलीले बताए ।

घटनास्थल प्रस्थान
प्रधानमन्त्री ओली झापाका धेरैवटा कार्यक्रम स्थगित गरेर सोमबार त्यस क्षेत्रको स्थलगत वस्तुस्थिति बुझ्न गएका थिए । यो प्राकृतिक विपद्ले एक्कैछिनमा पुर्याएको मानवीय तथा आर्थिक एवम् भौतिक क्षतिले त्यसक्षेत्रका जनतामा धेरै पीडा भएको बताउँदै प्रधानमन्त्रीले यो घटनाले आफूलाई निकै दुःखी बनाएको बताए । उद्धार र उपचारमा प्रदेश, स्थानीय र सङ्घीय सरकारसमेत जुट्ने घोषणा गरे । रातको समय अँध्यारो भए पनि तत्काल लाग्न जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन लगायतका निकायलाई राति नै निर्देशन दिएको उनले बताए ।

प्रधानमन्त्री ओली सो घटनापछि पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर वीरगञ्जतर्फ लगेका छन् । यसअघि आइतबार दमकका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झापा आइपुगेका प्रधानमन्त्रीको सोमबारसमेत विभिन्न कार्यक्रम तय भएको थियो । दमकस्थित पशुहाटमा निर्मित अत्याधुनिक पशुपञ्छी बजारको भवन तथा गौरादह–४ मा निर्माण सम्पन्न विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।