वीरगन्ज/नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएकाे छ ।

माइती पक्षले दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन्। ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन।’

बाराको परवानीपुर बहुअरीकी सुनीतादेवीको २०५९ फागुन ९ गते वीरगन्ज-२० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो। बिहेका बेला माइती पक्षले १२ लाख ५० हजार नगद र २ लाख ५० हजारका गरगहना दिएको थियो। भोजभतेरमा गरी २० लाख खर्च भएको थियो। उनीहरूको दाम्पत्य एक वर्षसम्म राम्रैसँग चल्यो। त्यसपछि भने श्रीमान्ले दाइजोमा कार र वीरगन्जमा घर किन्न लगाउन सुनीतालाई दबाब दिन थाले। श्रीमतीले थप दाइजो दिन सक्ने अवस्था माइतीको नरहेको बताएपछि सचितानन्दले मानसिक र शारीरिक यातना दिन थालेका थिए।

श्रीमान्सहित सासू, ससुरा र देवरले २०६२ जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेका थिए। सुनीताले जीउज्यानको सुरक्षा र अंश माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएकी थिइन्। पीडक पक्षले यातना नदिने लिखित प्रतिबद्धता जनाएपछि उनी घर फर्किएकी थिइन्। ‘सुनीता घर फर्किएलगत्तै फेरि ससुरालकाले यातना दिन थाले’, दाजु मनोहर यादवले भने, ‘तापनि, बहिनी सहेर बसेकी थिइन्।’ 

अन्नपूर्णपाेष्टबाट