उदयपुर/ त्रियुगास्थित असारी सामुदायिक वनमा पूर्व उपाध्यक्षले नै डढेलो लगाएको रहस्य खुलाएपछि वर्तमान अध्यक्षले सुराकी गरेको आरोपमा कुटाइ खानुपरेको छ । त्रियुगा नगरपालिका–१३ स्थित असारी सामुदायिक वनका अध्यक्ष ७२ वर्षीय वर्णलाल दाहाललाई सोही वनका पूर्वउपाध्यक्ष विष्णुबहादुर थापाले घाइते हुने गरी कुटपिट गरेको गाईघाट डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए ।
जिल्लाका वनहरूमा जताततै डढेलो फैलिन थालेपछि डढेलो लगाउने मान्छे पहिचान गर्न वनका अध्यक्ष दाहालले गस्ती शुरु गरेका थिए । गस्तीका क्रममा पूर्व उपाध्यक्ष थापाले डढेलो लगाउँदै गरेको भेटेपछि अध्यक्ष दाहालले प्रहरी र वन कार्मचारीलाई खबर गरेका थिए । वनमा छड्के गस्तीमा थापा रङ्गेहात समातिएपछि अध्यक्ष दाहाललाई ‘किन सुराकी गर्छस्’ भन्दै थापाले कुटपिट गरेको सूचना अधिकारी साहले बताए ।
घाइते दाहाल गाईघाटस्थित निजी हस्पिटलमा उपचाररत् छन् । दाहालको टाउको र ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । डढेलो लगाउने थापालाई उपभोक्ताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
थापाले वनका उपभोक्ता भविन्द्र थापालाई समेत कुटपिट गरेको बताइएको छ । डिभिजन वन कार्यालयका अनुसार शुक्रबार राति नै असारी सामुदायिक वनमा लागेको डढेलोले ३० देखि ४० हेक्टर वन सखाप भएको छ । डढेलो लगाउने थापालाई वन ऐनअनुसार कारबाही गर्ने र घाइतेलाई क्षतिपूर्ति दिलाउने वन कार्यालयले जनाएको छ ।
































