मधुमल्ला / भौगोलिक विकटता रहेको इलामको कर्णाली उपनामले परिचित इलामको दक्षिणी गाउँपालिका चुलाचुलीका जनताले यतिबेला सिंहदरबारको अधिकार गाउँ–गाउँमा पाउनु त परै जाओस् चुनावताका भोट मागेका जनप्रतिनिधि बसेको केन्द्रसम्म पुग्नै सास्ती भएको छ ।
अब त घरछेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका चुलाचुलीका जनताहरू निराश छन् । यहाँका जनताले आधारभूत सेवाबाहेक अन्य अत्यावश्यक सेवा पाउन निकै कष्ट बेहोर्नु परेको छ । साबिकको साक्फारा गाविसका नौ वटा वडालाई समायोजन गरी कायम गरिएको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का उत्तरीभेगमा यातायात, स्वास्थ्य, सुरक्षा पाउनको लागि पूरा दिन बिताउनुपर्ने बाध्यता छ ।
चुलाचुली–६ तोरीबारीकी रूपा बराइली केही दिनअघि मात्र निःशुल्क हुने जाहेरीमा ३ हजार रुपैयाँ खर्च भयो । जुन सुविधा अन्य पालिकाका जनताले निःशुल्क लिने गर्दछन् । उनी एक किलोमिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालय मधुमल्ला छोडरे मोरङ, झापा छिचोल्दै दुई दिन माया मारेर इलाम सदरमुकाम पुग्नुपर्यो । ‘हुने खाने धनीलाई त सहजै होला, मजस्तो गरिबको त हालतै भयो’ उनी थप्छिन्, ‘चुनावमा त नानाथरी भनेर भोट मागे, जितेर पनि गए, हामी गरिब जहाँको त्यहीँ ।’ जहाँ योजना सम्झौतालगायत सानो–सानो सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिन्छ । ‘गाउँ–गाउँमा सिंहदरबार होइन, सिंह चाहिँ आए, दरबार आएन’–उनले भनिन् ।
रूपाको जस्तै पीडा भोगेका छन् अर्का अम्विकाप्रसाद खतिवडा र लक्ष्मण पौडेलले । उनीहरू पनि केही समयअघि जग्गा नामसारी गर्नुपर्ने भयो । जेनतेन वडाको सिफरिस त बनाए तर पायक पर्ने ठाउँमा मालपोत नहुँदा दुई दिन लगाएर मोरङ, झापा हुँदै इलाम सदरमुकाम छिचोली दर्जनभन्दा बढी डाँडाकाँडा काटेर ५–५ हजार खर्च गरेर इलामको मङ्गलबारे पुगे । ‘जसोतसो २–४ दिन र ४–५ हजार माया मारेर त ठाउँमा पुगिन्छ, झन् कर्मचारीले कागजपत्र मिलेन भन्दाखेरी त अति दुःख लाग्छ’ उनीहरू भन्छन्, ‘पायक पर्ने ठाउँमा भइदिएको भए त ठीकै थियो ।
कोसौँ टाढा छ । हामी त जसरी चलौँला, महिला केटाकेटीको त महाबिजोगै हुन्छ । खानेपानीको पनि त्यत्तिकै समस्या छ । भोट माग्ने बेलामा गाउँ–गाउँमा सिंहदरबार भने । अहिले त सिंह चाहिँ टोल–टोलमा छन् तर दरबार उतै छ ।’ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको लालकिल्ला रहेको यस क्षेत्रमा २० हजार ८ सय २० जनता प्रत्यक्ष चपेटामा परेका छन् ।
































