काँकडभिट्टा/ झापाको सुरुङ्गाका ३९ वर्षीय युवा ओम ठटाल पुर्खौली पेशा सिलाई व्यवसायमा आत्मनिर्भर बनेका छन् ।

सुरुङ्गास्थित ओम सटिङसुटिङ सेन्टरलाई आफ्नो कर्मथलो बनाएर जीविकोपार्जनको माध्यम सिलाइ व्यवसायलाई बनाएका छन् । जाँगरिला ओमले ०५६ साल मङ्सिर महिनादेखि सिलाइ व्यवसायमा लागिपरेका हुन् । उनले शुरुमा दुई वटा लुगा सिलाउने मेसिन राखेर शुरु गरेको पसल ओम सटिङ–सुटिङ सेन्टरको रूपमा विकास भएको छ । उनको सटिङसुटिङ सेन्टरमा दैनिक ११ युवायुवती रोजगारी गर्छन् ।

ओमले दुःखका दिन सम्झिँदै भने, ‘१७ वर्षको उमेरदेखि अरुको घरमा बसेर काम सिकेँ ।’ उनको सटिङ–सुटिङ सेन्टरमा अहिले नेपाली मौलिक पोशाक तथा आधुनिक ब्राण्डका लुगा सिलाइ हुने ओम बताउँछन् ।

सबै जना कर्मचारीको खर्च र आफूले लुगामा लगाएको लगानीको खर्च काटेर मासिक १ लाख भन्दा बढी कमाइ गर्न सकिने उनी सुनाउँछन् । ९० हजार रुपैयाँका लागतमा शुरु गरेको पसल हाल ४५ लाख भन्दा बढीको सेन्टरको रूपमा विकास गर्न सफल भएको ओम बताउँछन् ।

‘नेपाली समाजमा पहिला सिलाई व्यवसाय गर्ने मानिसलाई नकारात्मक रूपले हर्ने चलन थियो, यो कहीँकहीँ रहे पनि आधुनिक पुस्ताले यस क्षेत्रमा सम्भावना देखेका छन्,’ ओम भन्छन्, ‘अहिले समाज परिवर्तन भएको छ, सिलाइ पेशामा दलितभन्दा बढी अन्य समुदायका मानिस आवद्ध छन् ।’ घरमै बसेर गर्न सकिने यो व्यवसायमा आजभोलि महिलाहरूको आकर्षण बढ्दो छ । धेरै महिला यही पेशामा लागेर सफल व्यवसायी तथा उद्यमी बनेका छन् । ‘पहिला सिलाइ पेशा सङ्कटमा थियो, बालीमा काम गर्नुपथ्र्यो तर अहिले समय परिवर्तन भएको छ,’ ओम भन्छन्,‘श्रमको मूल्य नगदमा मूल्याङ्कन हुन थालेको छ ।’

वैदेशिक रोजगारीको विकल्प
युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने गरेका छन् । तर नेपालमा नै सिलाई पेशा सिक्ने हो भने महिनाको १–२ लाख कमाउन विदेशिनु नपर्ने ओमको मान्यता छ । ओम भन्छन्,– ‘पहिला म आफैंलाई परिवार चलाउन सङ्कटको अवस्था थियो, धेरै गाह्रौ हुन्थ्यो तर अहिले यही पेशालाई व्यवसायका रूपमा लगानी गरेको छु, छोरीलाई राम्रो विद्यालयमा पढाउँदैछु, सुरुङ्गा बजारमा आफ्नै घर बनाउन सफल भएको छु, परिवार सहज तरिकाले चलेकै छ ।’