रङ्गेली । फुसको घरमा जिवननिर्भा गर्दै आएका विराटनगर महानगरपालीका १९ का ३२ सुकुम्बासी परिवारलाई महानगर सहित विभिन्न दातृ संस्थाको सहयोगमा पक्की घर बनाउन थालिएको छ ।
उक्त ३२ परिवारको सुकुम्बासी टोलमा दुई परिवार विश्वकर्मा र बाकि ऋषिदेव परिवार बसोबास गर्दै आएका थिए ।
महानगर र दातृ संस्था ह्याबिट्याट फर हुम्यानिटिजको सहयोगमा सहारा नेपाल र जीवन विकास समाज कटहरीले पहिलो चरणमा उक्त बस्तीका सुकुम्कबासीकोलागी पक्की घर निर्माण सुरु गरेको हो ।
घर निर्माणबाट उत्साहित स्थानियले आफ्नै घर निर्माणको लागी पनि रोजगारी पाएका छन् । आफ्नै घर निर्माणकोलागी पनि रोजगारी पाइरहेको स्थानिय प्रेम ऋषिदेवले बताए ।‘फुसको घरमा बसीरहेका हामीलाई विराटनगर महानगरपालीकाले सुरक्षीत घर निर्माण गरिरहेको छ ।’ उनले भने ‘आफैले मजदुरी सहित घर निर्माण गर्न पाएकोमा खुसि लागेको छ ।’
घर निर्माणमा काम गर्ने डकर्मीले दैनिक ८ सय र कामदारले ५ सय पाउछन् । हप्तामा एक दिन भने उनीहरुले श्रमदान गर्ने गरेका छन् । घर सँगै धनिपुर्जा पनि पाए घर प्रति अझै अपनत्व हुने उनीहरु बताउ छन् ।स्थानीय मन्तीदेवी ऋषिदेवले महानगर घरकोे धनीपुर्जा पनि दिए झनै आफ्नोपनको महसुस हुने उनले बताइन ।
नमुना बस्ति नाम दिएको उक्त बस्ति सरकारी स्वामित्वको १ विघा ४ कठ्ठा जग्गामा निर्माण भइरहेको छ ।
६० घर निर्माण हुने उक्त बस्तीमा कालोपत्रे सडक, घर घरमा खानेपानी, सामुदायिक भवन, बालबिकास केन्द्र, स्वास्थ्य संस्था, हरित बगैंचा, दिनारामभद्री भगवानको मन्दिरका साथै घर निर्माण भइरहेको छ । बस्ती निर्माणका लागि महानगरले जग्गा, जग्गामा माटो भर्ने, नाला, खानेपानी र पर्खाल निर्माण गरिदिने सम्झौता भएको छ । दातृ संस्था ह्याबिट्याटको आर्थिक र प्राबिधिक सहयोगमा सहारा नेपाल, विराटनगर शाखा र जीवन विकास समाज कटहरीले संयुक्त रूपमा निर्माणको सम्झौता भएको हो ।
सहारा नेपाल, विराटनगर शाखा प्रबन्धक घनश्याम अधिकारीका अनुसार पहिलो चरणमा ३२ घरधुरीको सुरक्षित र व्यवस्थित बसोबासका लागि घर निर्माण भइरहेको छ । पुरानो घर भत्काएर पुस १५ गतेदेखि निर्माण सुरु भएको घर जेठ मसान्तमा हस्तान्तरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।बाँकी २८ परिवारका लागि आउँदो आर्थिक वर्षको असोजबाट निर्माण सुरु गर्ने योजना रहेको अधिकारीले बताए ।
उक्त योजनामा काम गरिरहेका इञ्जिनियर अनिल घिमिरेका अनुसारका अनुसार स्ट्रिट लाइन मोडेलमा प्रतिपरिवारका लागि आरसिसि ढलान भएको जगमाथि पिल्लर र सिमेन्टको ब्लकको पर्खाल र माथि रंगिन जस्तापाता भएको दुई कोठे हुने छ । त्यसमा भान्सा, शौचालय र स्नान घर पनि हुने छ । प्रति परिवारको घर निर्माणका लागि ४ लाख ८० हजार खर्च लाग्ने इन्जिनियर घिमिरेले बताए ।
घर निर्माण भइरहेको उक्त बस्तिका ३२ परिवार स्थानीयको खेतमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन् ।
ह्याबिट्याटको सहयोगमा गत बर्ष पनि विराटनगर १९ खापटोल स्थित सिंघिया खोला किनारका बाढीपिडित सुकुम्बासीका लागि अस्थायी घर निर्माण गरेको प्रबन्धक अधिकारीले बताए । विराटनगर महानगरले खोला किनारमा बसोबास गर्ने सुकुम्बासि हटाएर सुरक्षित र व्यवस्थित बस्ती निर्माणगर्ने नीति लिए संगै दातृ संस्थालाई स्थायी घर निर्माणका लागि पहल थालेको उनले बताए ।
































