धरान/ धरान उपमहानगरपालिका वडा नं. २० को मानेडाँडामा स्थानीय तामाङ समुदायका महिलाहरूले ‘कोकाहा कृषि सामुदायिक होमस्टे’ शुरु गरेका छन् ।
 
विष्णुपादुका मन्दिर नजिकको माने डाँडाका ९ घरमा तयार गरिएको होमस्टेको शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले होमस्टे सञ्चालन गरिएका घरहरूबाट ल्याइएका ९ वटा बत्ती बालेर उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै उनले यो क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने प्रशस्त आधारहरू रहेको बताइन् । उनले यो क्षेत्रमा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको विकास गर्ने योजना रहेको बताइन् ।
 
होमस्टे रहेको माने डाँडाबाट धरान नगरक्षेत्रकाै सुन्दर दृश्यसँगै विष्णुपादुका मन्दिर र आसपासका रमणीयस्थलहरू हेर्न सकिन्छ । होमस्टेमा आएका पर्यटकलाई स्थानीय तामाङ समुदायले तामाङ संस्कृतिअनुसार पूजापाठ गरेर र डम्फु बजाउँदै पाहुनाको सुस्वास्थ्यको कामना गर्दै स्वागत गरेका थिए । 
 
कार्यक्रममा होमस्टे सञ्चालक समितिकी सचिव लक्ष्मी तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै आफूहरू पाहुनाको स्वागतका लागि तयार रहेको बताइन् । उपमहानगरपालिकाको पर्यटन प्रवद्र्धन समितिका सह–संयोजक किशोर थुलुङले उपमहानगरले होमस्टेलाई प्रोत्साहन गर्ने गरेको बताए । उनले होमस्टेमा नयाँ पुस्ताले गाउँको परिवेश बुझ्न सक्ने बताए ।
 
उद्घाटन कार्यक्रममा धरान–२० का वडाध्यक्ष मणिकुमार राईले यो क्षेत्रमा प्राकृतिक, सांस्कृतिक पर्यटनको विकास गरिने बताए । होमस्टे सञ्चालक समिति अध्यक्ष जुनमति तामाङले स्थानीय महिलाहरू घरायसी कामसँगै पर्यटनको काममा सक्रिय हुने बताइन् । उनले हाललाई ३० जनासम्मको समूहलाई होमस्टेमा व्यवस्थापन गर्न सकिने बताइन् ।