यासोक/ पाँचथरको कुम्मायक र तेह्रथुमको म्याङ्लुङ नगरपालिका जोड्ने झोलुङ्गे पुल समयमै मर्मत सम्भार नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका छन् ।
पुलका जालीहरू जीर्ण भएपछि पुल वारपार गर्न समस्या भएको छ । पुलको समस्या कुन जिल्लाले हेर्ने हो भन्ने विषयमा द्विविधा हुँदा जीर्ण पुल मर्मत हुन सकेको छैन ।
पुलमा वारिपारि गर्न समस्या भएपछि स्थानीयले अस्थायी रूपमा फलामको रड र काठले बाँधेर पुलको जालीलाई सुरक्षित गर्दै आएका छन् । जीर्ण भएको झोलुङ्गे पुलबाट दैनिक दुईपाङ्ग्रे सवारीसाधन जोखिम मोलेर तेह्रथुम र पाँचथर आवत–जावत गर्दै आएका छन् । दुवै जिल्लाबाट पशुचौपाया र कृषिजन्य वस्तुको निकासीका लागि सोही पुल प्रयोग गर्दा जोखिम बढेको स्थानीयले बताए । पुलमा जाली नहुँदा पशुचौपाया वारिपारि गर्न समस्या भएको छ । जोखिम मोलेर चौपायालाई तार्दा खोलामा झर्ने खतरा बढेको स्थानीय यामबहादुर बुढाथोकीले बताए ।
दुवै जिल्लाका स्थानीय तहले पुलको मर्मत सम्भारमा ध्यान नपुर्याउँदा जोखिम बढ्दै गएको छ । २०३५ सालमा स्थापना भएको पुलको मर्मत सम्भार कुन जिल्लाले गर्ने हो भन्ने यकिन नहुँदा यस्तो समस्या देखा परेको स्थानीयको भनाइ छ । सामान्यतया स्थानीय तहले कम बजेटमा पनि पुलको मर्मत सम्भार गर्न सक्ने अवस्था हुँदा पनि यसतर्फ खासै चासो नदिएको बुढाथोकी बताउँछन् । पुल वारिपारि मोटरसाइकल आवत–जावत गर्न सक्ने सडक बनाइएको छ । तर पुलमा जाली नहुँदा मोटर साइकलबाट जोखिम मोलेर यात्रा गर्नु परेको सवारी चालकको गुनासो छ ।
साप्ताहिक हटिया भर्न पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका किसान तेह्रथुमको म्याङ्लुङ बजार पुग्ने गरेका छन् । पुलको जाली नहुँदा रडमा समातेर वारपार गर्नुपर्ने हुन्छ । दिनको समयमा सहज भए पनि रातको समयमा समस्या हुने उनीहरूको गुनासो छ । पाँचथरका किसानले तमोर नदीको वारिपारि भएको कृषिजन्य वस्तुको ओसार–पसार गर्दा पुलमा समस्या हुने गरेको कुम्मायक–५ भुल्केका स्थानीय कृषक पदम कार्कीले बताए ।
तेह्रथुमतर्फको क्षेत्रमा खेती हुँदा पुलबाट धान र परालको भारी ओसार–पसार गर्न समस्या हुने गरेको उनको गुनासो छ । दुवै जिल्लालाई छोटो दूरीमा जोड्ने पुलबाट मोटरसाइकलदेखि पशुचौपायासमेत तार्ने गरिएको छ । तर पुल सुरक्षित नहँुदा लामो समयदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।
































