विराटनगर/ इँटा उद्योगमा बालश्रमिक रोक्ने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । 
 
बालश्रमिकको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूले सामाजिक विकास मन्त्रालयसँगको समयन्वयमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बालश्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपालमा करिब एक हजार २ इँटा उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगमा दुई लाख ५० हजार भन्दा मजदुर कार्यरत छन् । उद्योगमा ३२ हजारभन्दा बढी बालबालिका आफना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् । ‘श्रममैत्री इँटा उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा बालश्रमिक रोक्न प्रतिबद्ध रहेको बताएका हुन् ।
 
प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालश्रम अन्त्य गर्न प्रदेश सरकारले कठोर नीति अवलम्बन गर्ने बताउँदै बालश्रम प्रयोग हुने क्षेत्रमा कडा निगरानी गर्ने बताए । दक्ष र प्राविधिक कामदारका अभावमा अन्य देशबाट श्रमिक नेपाल आउने गरेको  बताउँदै उनले उद्योग र कारखानालाई चाहिने श्रमशक्ति स्वदेशमा नै उत्पादन गर्नुपर्ने बताए ।
 
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रविधि र दक्षता प्रयोग गरेर प्रदूषणरहित उद्योग सञ्चालन गर्नुपर्ने बताए ।  उत्पादनशील उद्योग स्थापना हुनुपर्ने बताउँदै बालश्रम अन्त्य गर्न, श्रममैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा ग्लोबल फेयरनेस इनिसिएटीभका अध्यक्ष हस्न बानो शेखले इँटा उद्योगमा कामदार एक्लै नआउने र परिवारै लिएर आउने हुनाले कामदारका बालबालिका श्रममा लाग्ने गरेको बताइन् ।
 
हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले बेरोजारीको समस्या उन्मूलन गर्न बालबालिका अनुकूलको वातावरण निर्माण गर्दै मानव सूचकाङ्कमा वृद्धि गर्नुपर्ने बताए । बेटर ब्रिक नेपाल कार्यक्रमले नेपालका इँटा उद्योगमा रहेको कामदारको अवस्था पहिचानका साथै बालश्रमको अन्त्य गर्ने लक्ष्य लिएको छ ।