यासोक (पाँचथर)/ पाँचथरको कुम्मायक गाउँपालिमा खानेपानीको हाहाकार रोक्न स्थानीय तहले पहिलो आर्थिक वर्षमा खानेपानी बोक्ने ट्याक्टर खरिद गर्यो ।
 
ट्याक्टरबाट स्थानीय साँवा खोला, निबु खोला र तमोर नदीबाट पानी ढुवानी गरेर नागरिकलाई पानी वितरण गर्दै आएको थियो । तर अहिले डिप बोरिङबाट खानेपानी योजना सञ्चालन भएसँगै खोला धाउनु नपर्ने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा डिप बोरिङमार्फत् गाउँपालिकामा खानेपानी योजना सञ्चालन भएसँगै खोलाको पानी बोक्नु नपर्ने भएको हो ।
 
दैनिकजसो खोलाको पानी ढुवानी गरेर नागरिकलाई वितरण गर्दै आएको गाउँपालिकाले पछिल्लो समयमा डिप बोरिङ खानेपानी योजनाबाट पानी वितरण गर्दै आएको छ । डिप बोरिङमार्फत् यासोकस्थित मल्लिडे र रानीगाउँको उत्तिसेबाट यासोकसहित ५ सय ८३ घरधुरीलाई पानी वितरण गर्दै आएको छ । त्यस्तै वडा नं. ५ को गोलेडाँडाबाट १ सय ६७ घरधुरीले पानी उपभोग गर्दै आएका छन् । त्यस्तै वडा नं. ४ को रानीगाउँका स्थानीयले पनि सोही पानी खाँदै आएका छन् । 
 
गाउँपालिकाको १५ सय घरधुरीलाई लक्षित गर्दै सञ्चालन गरिएको डिप बोरिङ खानेपानी योजनाबाट प्रत्येक टोल–टोलमा पाइपमार्फत् पानी वितरण गरिएको छ भने केही स्थानमा डिप बोरिङको पानी ट्याक्टरमा ढुवानी गरी अन्य बस्तीमा पनि वितरण हुँदै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । पहिले खोलाको पानी ढुवानी गर्दा स्थानीयको मागलाई धान्न सकेको थिएन । तर अहिले अधिकांश स्थानीयले पाइपमार्फत् पानी खाँदै आएको र पाइपबाट सम्भव नहुने स्थानमा ट्याक्टरबाटै पानी वितरण हुँदै आएको उनले जनाए । 
 
प्रदेश सरकारको १ करोड ६० लाख रुपैयाँले गाउँपालिकाको ५ स्थानमा डिप बोरिङमार्फत् खानेपानीको व्यवस्था गरेको हो । जसमध्ये हाल ३ वटा डिप बोरिङ खानेपानी योजना मात्रै सञ्चालनमा आएका छन् । बाँकी २ वटा योजना सञ्चालन हुने क्रममा रहेकाले खानेपानीका लागि खोला धाउनु नपर्ने चेम्जोङको भनाइ छ । खोलाको पानी ढुवानी गर्दा ट्याक्टरले दैनिक १२ हजार लिटर मात्रै पानी ढुवानी गर्ने गरेकोमा अहिले लाखौं लिटर पानी बस्तीमै सहज तरिकाले पुग्दा स्थानीयलाई राहत मिलेको छ । खोलाको पानी कुरेर बस्ने नागरिक अहिले डिप बोरिङको पानीले गुजारा चलाउँदै आएका छन् ।