उदयपुर/ सिद्धिचरण राजमार्ग अन्तर्गत कटारीको हस्पिटल चौकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका–४ हस्पिटल चौकमा बुधबार बिहान करिब ११ बजे ट्रकको ठक्करबाट बालकको मृत्यु भएको हो । कनपा– ५ खाडीखोप निबासी दिलबहादुर राईका छोरा ५ वर्षीय मौसम राईलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कटारीबाट सोलुखुम्बुका लागि सिमेन्ट बोकेर हिँडेको ना. ४ ख ८८९८ नम्बरको ट्रकले बाटोमा हिँडिराखेका राईलाई ठक्कर दिएकोे इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
बजार क्षेत्रभित्र पनि तीव्र गतिमा गुडेको ट्रकले आमा र दीदीसँग मामाघर जान हिँडेका राईलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको उनका आफन्तजनले बताएका छन् । घटनापछि कटारी बजार तनावग्रस्त बनेको छ । गाडीको ठक्करबाट मृत्यु भएका बालकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
गाडीको मालिक आउनु पर्ने, क्षतिपूर्ति दिनुपर्ने पीडितपक्षको मागसहित कटारी बजार बन्द गराएको प्रहरीले जनाएको छ भने अवस्था साम्य बनाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धु्रवकुमार श्रेष्ठले बताए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































