सभ्यताकोे उत्पत्तिः
वस्तुतः मानव समाजको उत्पत्तिसँगै सभ्यताको विकास हुँदैआएको देखिन्छ । ढुङ्गे युगको अन्त्यसँगै पशुपालन र खेतीपातीको युग आरम्भ भयो । समाज विकासको यही सिलसिला अन्तर्गत मानव समाज एउटा विकसित, सङ्गठित र स्थायी संरचना बन्न पुग्यो । ठीक यही विन्दुबाट विश्वमा सभ्यताको विकास प्रारम्भ भयो । विश्वका विभिन्न स्थानहरूमा मानव सभ्यताहरू देखा परे । प्राचीन सभ्यताहरू अन्तर्गत मेसोपोटामिया, सिन्धुघाँटी, इजिप्सीयन, ह्वाङ्–हो नदी, ग्रिक, रोमन, एज्टेक, मायान, इन्कास आदि मुख्य सभ्यताहरू हुन् । प्रायः मानव सभ्यता नदी किनारका उर्वर भूमिमा भएको पाइन्छ । यसमध्ये मेसोपोटामियालाई सबैभन्दा पुरानो सभ्यता मानिन्छ । यो करिब चारहजार वर्ष ईशापूर्व नै विकास भएको इतिहासकारहरूको दाबी छ । यही प्राचीन सभ्यताहरूकै विकसित र विस्तारित रूप नै वर्तमान हाम्रो बृहत् आधुनिक मानव समाज हो ।
सभ्यताको परिभाषाः
यो ल्याटिन भाषाको ‘सिभिस’ शब्दवाट व्युत्पत्ति भएको हो । यसको अर्थ शहरमा बस्ने नागरिकलाई जनाउँदछ । शताब्दीयौैं लामो मानव विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियाबाट हासिल गरिने बुद्धि, सीप र ज्ञान प्राप्तिको समुच्चय नै सभ्यता हो । मूलतः सभ्यता भनेको मानव समाजको त्यस्तो विकसित अवस्था हो, जहाँ उच्चतम्रूपमा विकसित सरकार, विज्ञान, संस्कार, संस्कृति, उद्योग, व्यवसाय, साझा मनोविज्ञान, साझा सामाजिक मूल्य र मान्यताहरू अनिवार्य हुन्छ । यो जङ्गली, घुमन्ते वा असङ्गठित, अशिक्षित, अप्रशोधित वा कच्चाबाट विकसित अवस्थातर्फको सङ्क्रमणकालीन अवस्था पनि हो । कतिपय अध्येताहरूले शहर र घना आवादी भएको समाजमा गरिने सम्पूर्ण क्रियाकलापहरूको पूर्ण रूपलाई सभ्यता भनेर परिभाषित गरेका छन् । यस अतिरिक्त धर्म वा सामाजिक नियम, सामाजिक संरचना, लेखन, लिपि र कलाहरूको एउटा सेटमा अभ्यास गरिने सामाजिक गतिविधिको सग्लो रूपलाई सभ्यता भनिन्छ । अर्थात् राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक मानव जीवनयापनको समग्र तरिका नै सभ्यता हो ।
सभ्यताको विशेषताः
वास्तवमा सभ्यता त्यसै निर्माण हुँदैन । यसले कष्टसाध्य ऐतिहासिक कालखण्ड गुजार्नै पर्दछ । यसको लागि केही मूलभूत विशेषताहरू अनिवार्य हुन्छ । यसमा आफ्नै स्वामित्वमा रहेको भूमि चाहिन्छ, जहाँ नागरिकहरू बसोबास गर्न सकुन् । यसैगरी राष्ट्रवादी भावनासहितको एकीकृत मनोविज्ञान हुनुपर्दछ । साझा मनोविज्ञान, साझा भाषा, साझा धर्म र संस्कृति जरुरी हुन्छ । निश्चित भूगोल अन्तर्गत स्थायी प्रकृतिको राजनीतिक तथा सामाजिक संरचना चाहिन्छ ।
कृषि, उद्योग वा जीवनयापनको स्थापित अर्थराजनीतिक सम्बन्ध हुनुपर्दछ । स्थायी चरित्रको राजनैतिक राज्य साथै सरकारी कर्मचारीतन्त्र जरुरी हुन्छ । श्रम र व्यापारको विशिष्टीकरण गर्नु पर्दछ । सामाजिक वर्ग, सार्वजनिक काम, कला र वास्तुकला अपरिहार्य हुन्छ । अभिलेखीकरण, विकसित प्रविधि, मिश्रित संस्था, प्रणालीको विकसित रूप, मानवीय नैतिकता, नीतिशास्त्रीय वा बौद्धिक विकास आदिको सम्पूर्णता नै सभ्यताको विशेषताहरू हुन् । यसमा आफ्नै सामाजिक संस्था र संस्कृतिसहितको खास समाज व्यवस्था विद्यमान हुन्छ, जसले एउटा खास ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ ।
किरात सभ्यताः
यसरी सभ्यतासम्बन्धी उपर्युक्त परिभाषा र विशेषताहरूलाई नियाल्दा किरात आफैमा एउटा स्थापित प्राचीन सभ्यता हो । वास्तवमा किरात सभ्यता धेरै पुरानो सभ्यता हो । प्राचीनकालमा हिमालय क्षेत्रलाई ‘किमपुरुष’ भनिन्थ्यो, जसको अर्थ ‘किरात प्रदेश’ भनेर दाबी गरियो । त्यसबेला हिमालय क्षेत्रमा सिंहको टाउको र मान्छेको शरीर भएको मानव प्रजाति भएको बताइन्छ । यही जाति नै किरात हो भन्ने मत पनि रहेको छ । यो भारतको वैदिक सभ्यताको समकालीन मानिदै आएको छ ।
साथै ह्वाङ्–हो र सिन्धु उपत्यकाको सभ्यताहरू विकास र विस्तार भइरहेको बेला अस्तित्वमा आएको देखिन्छ । यता यजुर्वेदमा समेत किरातः शब्द उल्लेख गरिएको छ । महाभारत युद्धमा किराती राजा यलम्वरको सहभागिता रहेको दाबी पनि गरिन्छ । खैर, किराती भन्नाले पहाडको साहसी र सुन्दर मान्छे, जसले जङ्गलमा धनुर्वाणद्वारा शिकार गर्दछ, उनीहरू प्रकृतिपूजक वा भौतिकवादी थिए । कतिपय अध्येताहरूले किरातीहरूलाई हिमाल वारिपारि बस्ने सिंह वा बाघको चरित्र भएको जाति भनेका छन् । उनीहरू झण्डै चार हजार वर्ष अघिदेखि नै हिमाली क्षेत्रमा बसोबास गर्दै आएको दाबी गरिएको छ । सामन्यतया किरातीहरूलाई साहसी, इमान्दार, स्वच्छ, समर्पित र कडा परिश्रमीको बिम्बसँग तुलना गरेको पाइन्छ, जुन आजसम्म पनि तथ्यसङ्गत देखिन्छ ।
यद्यपि प्रकृतिपूजक किराती राजा यलम्वरले ईशापूर्व लगभग १५ सय वर्षअघि नेपाल उपत्यकामा पहिलो किराती राज्य स्थापना गरेपछि मात्र यसले मूर्तरूप लिएको देखिन्छ । जम्मा ३२ जना किराती राजाहरूले झण्डै दुईहजार वर्षसम्म शासन गरेको उल्लेख छ । तथापि यो समयसीमामा भने एकमत छैन । त्यसबेला पूर्वमा टिष्टादेखि पश्चिममा त्रिशूलीसम्म किरात राज्य रहेको दाबी गरिन्छ । किरातकालमा नै किरात सभ्यताको उच्चतम् विकास र विस्तार भएको देखिन्छ । किनकी किरातकालमा नै निश्चित भूगोल, सरकार, नीतिनियम, भाषा, सामाजिक अनुशासनको नियम, संस्कृति, परम्परा, रहन–सहन, वास्तुकला, चित्रकला, कृषि, पशुपालन, उद्योग, व्यवसाय, व्यापार र साझा मनोविज्ञानको संस्थागत विकास भएको पाइन्छ । वस्तुतः सभ्यताको मूलभूत तŒवहरू यिनै हुन् । अझ ठोस गरेर भन्दा किरातकालीन ऐतिहासिक सभ्यताको विकसित, विस्तारित र परिमार्जित रूप नै वर्तमान पूर्वी नेपालको सभ्यता हो ।
माक्र्सवादी दृष्टिकोणमा सभ्यताः
माक्र्सवादले पनि मानव इतिहासको अकाट्य पक्षलाई आत्मसात गर्दछ । सभ्यताको विकास र विस्तारलाई स्वीकार गर्दछ । यो समाज विकासको ऐतिहासिक निरन्तर प्रक्रिया अन्तर्गत विकास हुन्छ भन्ने मान्यता राख्दछ । तर माक्र्सवाद सभ्यताको अमूक विकास र विस्तारमा मात्र सीमित हुँदैन । यसको शासक वर्गीय चरित्र र स्वार्थमाथि व्याख्या र बहस गर्दछ । यो निश्चित सामाजिक वर्ग र संरचना वा सत्ताको शृङ्खलाद्वारा अथवा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियाबाट विकास हुन्छ भन्नेमा विश्वास गर्दछ । कुनै पनि सभ्यताको विकास शासकवर्गीय हित र स्वार्थको केन्द्रीय रणनीति अन्तर्गत हुने तथ्य अघि सार्दछ । सभ्यताको न्यायिक र गैरन्यायिक चरित्र बारे वकालत गर्दछ ।
खासगरेर सामाजिक अन्तरविरोध र सङ्घर्षकै बीचमा सभ्यताको सृजना हुने सार्वभौम प्रक्रियामा विश्वास गर्दछ । सभ्यता पनि शासक र शासित वर्गीय हित अनुरूप विकास वा स्थापित हुने मान्यता राख्दछ । अर्थात् हरेक अर्थराजनीतिक राज्यरूपमा आफ्नै मूल उत्पादन पद्यति हुन्छ, जसले श्रममा विविधता र विभेद जन्माउँदछ । अनि एकले अर्कोलाई आफ्नो स्वार्थगत अधीनमा राख्दछ । माक्र्सको भाषामा यही अन्तरविरोधपूर्ण सामाजिक सम्बन्धको सग्लो सेट नै सभ्यता हो । वस्तुतः यो उत्पादनको निम्ति गरिने सङ्घर्ष र वर्गसङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाद्वारा विकास र विस्तार हुँदैजाने अनन्त सिलसिलाको क्रममा विकास हुने गर्दछ । माक्र्सवादले न्यायपूर्ण र सबैको पहुँच हुने सभ्यताको वकालत गर्दछ । फरक यही हो ।
प्रदेश नामाकरणः
हामी अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छौं । यही अन्तर्गत प्रदेश नामाकरणको मुद्दा सनसनी र पेचिलो बनिरहेको छ । मूलतः कुनै पनि मुलुकको राष्ट्रिय मूल अर्थराजनीतिले तपशिलका सबै सहायक पक्षहरू निर्धारण गर्दछ । आज हाम्रो अभ्यासमा रहेको सङ्घीयता जनअपेक्षा अनुरूप उत्पीडितमैत्री स्वायत्त राज्यको राजनैतिक हैसियतमा त छैन । अर्थात् अपेक्षितरूपमा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गमैत्री देखिन्न । पहिचान वा अधिकार सुनिश्चितताको दिशातर्फ परिलक्षित छैन ।
यद्यपि यो उत्पीडन र विभेदमुखी राज्यरूप विरुद्ध उठान गरिएको मुद्दा हो । तर आज यो नितान्त भौगोलिक तथा प्रशासनिक विभाजनको मूल्यमा सीमित गरिएको छ । यही अन्तरवस्तुसहितको सङ्घीयताबाट धेरै हक अधिकारहरूको सुनिश्चितताको अपेक्षा गर्नु वैचारिक राजनीतिक दरिद्रता मात्र हुन्छ । यद्यपि यही भौगोलिक सङ्घीयताभित्रै पनि अलि बढी अधिकार वा पहिचानजन्य धरातल निर्माण गर्ने प्रयासहरूलाई गलत भन्न सकिन्न । त्यसैले नाममा पहिचान खोज्ने प्रयत्न भनेको ‘नहुनु मामाभन्दा कानो मामा निको’ भन्ने सीमासम्म सही नै देखिन्छ ।
मुख्यतया एक नम्बर प्रदेशको नामाकरण निकै पेचिलो मुद्दा बनिरहेको छ । यसमा स्वयम् किरातीहरूमा समेत द्विविधा र अन्यौलता देखिन्छ । वैचारिक राजनैतिक स्पष्टताको अभाव खड्किएको छ । किरात, लिम्बुवान र खम्बुवान बीचमा मत मतान्तर छ । यसले गैर पहिचानवादीहरूलाई चलखेल गर्ने कोठा उपलब्ध गराइरहेको छ, जुन तमाम उत्पीडित वर्ग तथा जातिहरूको लागि दुर्भाग्य हो । यस सन्दर्भमा पनि जसरी हिजो पहिचान र गैरपहिचानवादी सङ्घीयता पक्षधरहरूबीच विवाद थियो, आज पनि सोही विवाद देखिन्छ । सङ्घीयता नै नचाहनेहरूको लागि त झन् ताली पड्काउने अवस्था छ ।
अर्थात् भौगोलिक र प्रशासनिक सङ्घीयता पक्षधरहरू भौगोलिक आधारमा नामाङ्कन गर्न खोजिरहेका छन् । यता पहिचानवादीहरू ऐतिहासिक सभ्यता वा पहिचानको आधारमा नामाङ्कन हुनुपर्छ भनिरहेका छन् । यही मेसोमा एक नम्बर प्रदेशको नाम पनि कसैले किरात, लिम्बुवान र खम्बुवान हुनुपर्छ भनिरहेका छन् भने कसैले कोशी, सगरमाथा वा कञ्चनजङ्घाको वकालत गरिरहेका छन् । यो सङ्घीयतासम्बन्धी राजनैतिक अन्तरवस्तुगत बुझाइ, व्याख्या र आत्मसातीकरणकै अभिव्यक्ति हो । राजनैतिक विचारधाराहरूद्वारा निर्देशित मतहरू हुन् । यद्यपि नामाकरण आफैमा राजनैतिक हल होइन, प्राविधिक समाधान मात्र हो ।
उपर्युक्त सम्पूर्ण व्याख्या, विश्लेषण र मतहरूबाट यो प्रष्ट हुन्छ कि एक नम्बर प्रदेशको नामाकरणमा पहिचानलाई आधार बनाउनु वैज्ञानिक र वस्तुवादी हुन्छ । पहिचानलाई आधार मान्नु भनेको ऐतिहासिक पृष्ठभूमि र सभ्यतालाई सम्बोधन गर्नु हो । समुदायगत बाहुल्यतालाई सम्मान गर्नु हो । पूर्वी नेपालको सन्दर्भमा ऐतिहासिक सभ्यतालाई स्वीकार गर्नु भनेको किराती सभ्यता नै हो । यो कुनै जाति, समुदाय र राष्ट्रविशेषको मात्र प्रतिनिधित्व गर्ने पदावली होइन ।
ऐतिहासिक तथ्यहरूको अध्ययन गर्दा यस क्षेत्रको आजसम्मको समग्र सभ्यता विकासको जग नै किरात सभ्यता हो । अर्थात् तुलनात्मकरूपमा सिङ्गो समाजलाई एकसूत्रमा बाँध्ने कडी नै किरात सभ्यता देखिन्छ । यो कुनै भावाशेष भनाइ मात्र होइन । यहाँको इतिहास, सभ्यता, भूगोल, जनसंख्या, धर्म, संस्कृति, परम्परा र जीवनयापनका समग्र क्रियाकलापहरूको सेटलाई नियाल्दा पनि किरात नामाकरण वस्तुवादी देखिन्छ । त्यति मात्र होइन, यस क्षेत्रका तमाम उत्पीडितहरूको सारभूत राजनैतिक चाहना, मर्म र आवश्यकता पनि यही रहेको छ ।
निष्कर्षः
त्यसैले इतिहास समकालीन समाजको ऐना हो । सभ्यता यसको आधारशिला वा जग हो । सभ्यतालाई समयसापेक्ष परिमार्जन गर्न सकिन्छ । यो लामो ऐतिहासिक प्रक्रियामार्फत् विकास र विस्तार हुँदै जान्छ, जुन सार्वभौम नियम हो । यही इतिहाससिद्ध कडीलाई मध्यनजर गर्दै एक नम्बर प्रदेशको नामाकरण ऐतिहासिक सभ्यतामा आधारित गर्नु वैज्ञानिक हुन्छ । अर्थात् पहिचान वा उत्पीडित वर्गीय अधिकारमा आधारित हुनुपर्दछ । त्यो भनेको किरात राज्य नै हो ।
तुलनात्मकरूपमा पूर्वको सन्दर्भमा इतिहास, सभ्यता, भूगोल, जनसंख्या, स्थापित संस्कृति, परम्परा र साझा मनोविज्ञानलाई समेट्ने माध्यम नै किरात सभ्यता हो । यसको अर्थ किरात भएपछि अरुमाथि अन्याय र विभेद लाद्ने भन्ने होइन । किनकी यसको उठान नै अन्याय र अत्याचारविरुद्ध हो । तसर्थ, प्राचीन किरात सभ्यतालाई जोड्न, पहिचान वा अधिकारहरू सुनिश्चित गर्न अनि उत्पीडित वर्ग तथा राष्ट्रहरूको मर्म र भावनालाई सम्बोधन गर्न किरात स्वायत्त प्रदेश नामाकरण गर्नु सबैभन्दा उत्तम हुन्छ । यो वस्तुगत सच्चाइलाई सरोकारवालाहरूले गम्भीर ढङ्गले आत्मसात गर्नु जरुरी छ ।